जनता टाइम्स

१ कार्तिक २०८३, शनिबार ०६:३०

आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको पूजा गरिँदै


काठमाडौं, असोज ३१ । बडादसैंको सातौँ दिन आज आश्विन शुक्ल सप्तमीका अवसरमा घरघरमा फूलपाती भित्र्याइँदै छ। दसैं घर तथा पूजा कोठामा फूलपाती भित्र्याएर विधिपूर्वक पूजा गर्ने परम्परा छ।

नवरात्रको सातौँ दिन आज नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको पूजा आराधना गरिँदै छ। वैदिक सनातन परम्पराअनुसार कालरात्रि देवीको विधिपूर्वक पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

फूलपाती अपराह्नकालमा भित्र्याउने वैदिक विधि रहेको छ। यस अवसरमा दसैं घर तथा पूजा कोठामा फूलपाती भित्र्याएर देवीको आराधना गरिन्छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखिएको थियो। त्यसयता क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता र कात्यायनी देवीको पूजा गरिएको छ। आज कालरात्रिको पूजा गरिँदै छ भने अष्टमीमा महागौरी र नवमीमा सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ।

नवरात्रका नौ दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरी विशेष आराधना गरिन्छ। नवरात्रमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गर्छ।

नौ दिनसम्म पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैं पर्व मनाउने गर्छन्।