काठमाडौं, असोज ३१ । बडादसैँको फूलपातीदेखि विजयादशमीको टीकासम्म देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। केही हिमाली तथा पहाडी क्षेत्रमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको दसैँ विशेष मौसम बुलेटिनअनुसार नेपालबाट मनसुन बाहिरिसकेकाले दसैँ अवधिमा पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिएको छ।
शनिबार फूलपातीका दिन कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा केही हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
आइतबार अष्टमीका दिन पनि हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा बिहान हुस्सु वा कुहिरो लाग्न सक्नेछ।
कात्तिक २, ३ र ४ गते अर्थात् नवमीदेखि विजयादशमीसम्म कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहे पनि देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहने देखिएको छ।
यसअनुसार दसैँको टीकाका दिन अधिकांश स्थानमा मौसम अनुकूल रहने अनुमान छ। यद्यपि, पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले स्थानीय मौसम पूर्वानुमानलाई ध्यान दिनुपर्नेछ।














प्रतिक्रिया दिनुहोस्