जनता टाइम्स

१ कार्तिक २०८३, शनिबार १५:५१

सभापतिको पद अहंकारको श्रीपेच होइन, नागरिकको जिम्मेवारी पूरा गर्ने अवसर हो : गगन थापा


काठमाडौं, असोज ३१ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको पदलाई व्यक्तिगत प्रतिष्ठा र अहंकारका रूपमा नभई नागरिकप्रतिको जिम्मेवारी पूरा गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ।

शनिबार शपथ ग्रहणपछि उहाँले आफू लामो राजनीतिक संघर्ष र यात्राबाट यहाँसम्म आइपुगेको उल्लेख गर्दै पद प्राप्त गर्नु आफ्नो यात्राको मूल उद्देश्य नभएको बताउनुभयो। पदहरू काम गर्ने क्रममा प्राप्त हुने जिम्मेवारी भएको उहाँको भनाइ थियो।

सभापति थापाले शपथ ग्रहणका क्रममा व्यक्त प्रतिबद्धताको वास्तविक परीक्षा आगामी दिनमा हुने बताउनुभयो। विशेषगरी कठिन परिस्थितिमा लिने निर्णय र निर्वाह गर्ने भूमिकाबाट आफ्नो प्रतिबद्धता प्रमाणित हुने उहाँले उल्लेख गर्नुभयो।

उहाँले नेपाली कांग्रेसको सभापतिको जिम्मेवारी पार्टीको ऐतिहासिक विरासत जोगाउने र नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसर भएको बताउनुभयो। बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायत अग्रज नेताहरूले निर्वाह गरेको जिम्मेवारी स्मरण गर्दै उहाँले त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।