काठमाडौं, असाेज ३१ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ।दशैँ, तिहारमा नेपाली बजारमा उपभोग्य वस्तुको आपूर्ति सहज र व्यवस्थित बनाउन नेपाल सरकारले गरेको विशेष आग्रहपछि चिनियाँ पक्ष नाका खोल्न सहमत भएको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले चिनियाँ पक्षसँग छलफल तथा समन्वय गरेपछि नाका तीन दिनका लागि सञ्चालनमा ल्याउने सहमति जुटेको हो। निर्धारित कार्यक्रमअनुसार तातोपानी नाका अक्टोबर १८ देखि २० सम्म सञ्चालनमा रहनेछ। उक्त अवधिमा चिनियाँ भूमिमा रोकिएका तथा भन्सार प्रक्रिया पूरा भएका कार्गो ट्रक र मालवाहक सवारीसाधनलाई मात्र आवतजावत गर्न अनुमति दिइने जनाइएको छ।
चिनियाँ सामान बोकेका कन्टेनर नाकामै रोकिँदा व्यापारीहरू प्रभावित भएका थिए। त्यसैगरी, चाडपर्वका समयमा बजारमा उपभोग्य वस्तुको अभाव हुन सक्ने जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै नाका अस्थायी रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो।
नाका सञ्चालनमा आएसँगै दशैँ, तिहारलाई लक्षित गरी आयात गरिएका कपडा, फलफूल तथा अन्य उपभोग्य सामग्री नेपाली बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ। यसबाट नाकामा रोकिएका मालवाहक सवारीसाधनको आवागमन व्यवस्थापन हुनुका साथै व्यापारी तथा उपभोक्तालाई समेत राहत पुग्ने विश्वास गरिएको छ।














प्रतिक्रिया दिनुहोस्