जनता टाइम्स

१ कार्तिक २०८३, शनिबार १४:२८

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : योगेश भट्टराई


काठमाडौं, असोज ३१ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताउनुभएको छ। उहाँले श्रेष्ठको गिरफ्तारी नेपालको संविधान, कानुन तथा विश्वव्यापी मानवअधिकारसम्बन्धी मान्यता विपरीत रहेको टिप्पणी गर्दै उहाँलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ।

भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पत्रकार श्रेष्ठको गिरफ्तारीलाई सरकारको ‘फाँसीवादी चरित्र’ को उदाहरणका रूपमा व्याख्या गर्नुभएको छ। उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा जोड दिँदै श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग गर्नुभएको हो।

पत्रकार श्रेष्ठलाई प्रहरीले आज उहाँकै घरबाट नियन्त्रणमा लिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा कमेडियन हिमेश पन्तले हिजो श्रेष्ठविरुद्ध साइबर ब्युरोमा उजुरी दिनुभएको थियो।

सामाजिक सञ्जालमा अभिव्यक्ति र त्यसको मर्यादालाई लिएर विवाद भइरहेका बेला श्रेष्ठले पनि पन्तविरुद्ध हिजै उजुरी दिनुभएको थियो ।

श्रेष्ठको गिरफ्तारीपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक सञ्जालमा व्यक्त गरिने अभिव्यक्तिको सीमा र कानुनी प्रक्रियाका विषयमा बहस चर्किएको छ। श्रेष्ठको पक्राउको सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ । दुई पक्षलाई राखेर छलफल गर्ने भन्दै प्रहरी श्रेष्ठलाई लिन उहाँको घरमा पुगेको थियो ।