काठमाडौं, असाेज ३१। प्रधानमन्त्री बालेन्द्र साहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताउनुभएको छ। बडादसैँको शुभकामना सन्देश जारी गर्दै उहाँले आर्थिक सम्पन्नताको बाटोमा अघि बढ्दै देशलाई सुशासनको मार्गमा हिँडाउन सरकार अहोरात्र खटिरहेको जानकारी गराउनुभएको छ।
प्रधानमन्त्री साहले आफ्नो सन्देशमा भन्नुभएको छ, ‘आर्थिक रूपमा हरेक नागरिकको सम्पन्नताले नै चाडपर्वहरूको रौनक अझै थपिन्छ। आर्थिक कारणले नै दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्नु हुँदैन भन्नेमा हामी सचेत छौँ।’
उहाँले देशको समृद्धि र आमनागरिकको सुखद जीविकाप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आर्थिक कारणले चाडपर्व मनाउन कठिनाइ भोग्नुपर्ने अवस्थालाई बदल्न सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ।
प्रधानमन्त्री साहले दसैँको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै यस पर्वले हरेक घरमा उत्सव र उमङ्ग ल्याओस् भन्ने कामना गर्नुभएको छ। उहाँले बडादसैँलाई विश्वभर छरिएर रहनुभएका नेपाली समुदायलाई एकताबद्ध गर्ने पर्वका रूपमा व्याख्या गर्नुभएको छ।
उहाँका अनुसार दसैँ धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण पर्व हो। यसले नेपाली समाजमा एकता, आत्मीयता र पारिवारिक मिलनको अवसर प्रदान गर्दै आएको छ। ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्पराले सानालाई माया र ठूलालाई आदर गर्ने नेपाली मौलिक संस्कृतिको प्रतिबिम्ब प्रस्तुत गर्ने उहाँको भनाइ छ।
प्रधानमन्त्री साहले रोजगारी तथा अन्य बाध्यताका कारण विदेशिनुपर्ने नेपाली र चाडपर्वमा समेत परिवारसँग मिलन गर्न नपाउने नागरिकको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभएको छ, ‘हरेक दिन बाध्यताले विदेशिनुपर्ने दाजुभाइ तथा दिदीबहिनीहरूको पीडा र चाडपर्वका अवसरमा पारिवारिक मिलनका लागि घर फर्कने चाहना हुँदाहुँदै पनि फर्कन नपाई परदेशमा रित्तो निधार लिएर बस्न बाध्य हुनुपर्ने लाखौँ नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको नियति बदल्न हामी सबैको हातेमालोबाट सम्भव छ।’
सरकार देशको समृद्धि र नागरिकको सुखद जीविकाप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले आर्थिक सम्पन्नताले नै चाडपर्वको वास्तविक रौनक बढाउने बताउनुभएको छ।
प्रधानमन्त्री साहले यस वर्ष रसुवा, नुवाकोट, गोरखालगायतका स्थानमा भएका विनाशकारी घटनाको शोकबीच दसैँ आएको स्मरण गर्नुभएको छ।
उहाँले विपद्मा ज्यान गुमाउनुभएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। साथै, शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको जानकारी गराउनुभएको छ।
यसअघि विनाशकारी भूकम्प, कोभिड महामारी तथा अघिल्लो वर्षको जेनजी आन्दोलनपछिको तनावपूर्ण परिस्थितिमा समेत नेपालीहरूले आफ्नो धार्मिक, सांस्कृतिक तथा सामाजिक परम्परालाई निरन्तरता दिएको उहाँले उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्री साहले दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा व्याख्या गर्नुभएको छ। उहाँले प्रत्येक व्यक्तिले आफूभित्र रहेका नकारात्मक प्रवृत्तिलाई चिन्न र तिनमाथि विजय प्राप्त गर्नुपर्ने बताउनुभएको छ। उहाँले भन्नुभएको छ, ‘मानव दुःखका प्रमुख कारणका रूपमा रहेका काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारमाथि विजय प्राप्त गर्न सकौँ भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु।’
दसैँको सन्देशलाई आत्मसात् गर्दै सत्य र सुशासनको बाटोमा अघि बढ्न उहाँले सबैलाई आह्वान गर्नुभएको छ। माता दुर्गाभवानीको कृपा सबैमा रहोस् भन्दै प्रधानमन्त्री साहले नेपालीहरूमा आरोग्य, सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ।
उहाँले सभ्य र भव्य रूपमा दसैँ मनाउन आग्रह गर्दै सबैको जय होस् भन्ने शुभेच्छासहित आफ्नो सन्देश टुङ्ग्याउनुभएको छ।














प्रतिक्रिया दिनुहोस्