जनता टाइम्स

१ कार्तिक २०८३, शनिबार १५:५९

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माको आपत्ति, तत्काल रिहाइको माग


काठमाडौं, असाेज ३१। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति आपत्ति जनाउँदै उहाँलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ। उहाँले पत्रकारितासम्बन्धी विषयमा चित्त नबुझे प्रेस काउन्सिलमा जाने र त्यहीँ छलफल गराउने पत्रकार आचारसंहिताको मर्म रहेको बताउनुभएको छ।

अध्यक्ष शर्माले सरकार र प्रहरी प्रशासनको दुरुपयोग गरेर पत्रकार पक्राउ गर्ने तथा सञ्चारमाध्यमलाई दबाबमा राख्ने प्रवृत्ति बढेको आरोप लगाउनुभएको छ। उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी रवैयाको भर्त्सना गर्दै लोकतन्त्र, संविधान र विधिको शासनको सम्मान गर्न आग्रह गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “समाचारमा चित्त बुझेन भने प्रेस काउन्सिलमा जाने होला नि ! छलफल पनि काउन्सिलमा गराउने पत्रकार आचारसंहिताको मर्म हो !”

शर्माले पत्रकारितासम्बन्धी विवादलाई कानुनी तथा संस्थागत प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ। पत्रकारलाई साइबर ब्युरोमा बोलाएर छलफल गराउने प्रक्रियासमेत विधिसम्मत नभएको उहाँको भनाइ छ।

उहाँले पछिल्ला केही महिनायता सरकार प्रहरी प्रशासनको दुरुपयोग गर्दै पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यमलाई दमन गर्ने दिशामा अघि बढेको आरोप लगाउँदै प्रेस स्वतन्त्रताको संरक्षण गर्नुपर्ने बताउनुभएको छ।

अध्यक्ष शर्माले प्रेस काउन्सिलको भूमिकालाई कमजोर बनाउने सरकारी रवैयाप्रति पनि चिन्ता व्यक्त गर्नुभएको छ। उहाँका अनुसार पत्रकारितासम्बन्धी आचारसंहिता र विवाद निरूपणका लागि स्थापित निकायको औचित्य कायम राख्न आवश्यक छ।

उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध सबैलाई एकजुट हुन आह्वान गर्दै पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ। साथै, उहाँले वर्तमान सरकारको आयु लामो नरहेको टिप्पणीसमेत गर्नुभएको छ।

पत्रकार श्रेष्ठको गिरफ्तारीको विषयले प्रेस स्वतन्त्रता, पत्रकारितासम्बन्धी विवाद समाधानको संस्थागत प्रक्रिया र अभिव्यक्ति स्वतन्त्रताको सीमाबारे बहस सिर्जना गरेको छ। यस सन्दर्भमा प्रेस काउन्सिलको भूमिका, कानुनी प्रक्रिया र पत्रकारको अभिव्यक्ति स्वतन्त्रताको संरक्षणसम्बन्धी विषय पुनः चर्चामा आएका छन्।