काठमाडौं, असाेज ३१ । नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्दै समाचारको विषयमा असन्तुष्टि भए सम्बन्धित निकायमार्फत समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले साइबर ब्युरोमा दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाइएको हाे । विज्ञप्तिअनुसार पन्तले आफ्नो चरित्र हत्या गरिएको विषयमा उजुरी दिनुभएको थियो। उक्त उजुरीलाई लिएर एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोलीले श्रेष्ठलाई आज ललितपुरको नख्खुस्थित उहाँकै निवासबाट पक्राउ गरेको महासंघले जनाएको छ। श्रेष्ठले पनि पन्तकाे विरुद्ध उजुरु दिनुभएकाे भए पनि त्यस माथि कारबाही भएकाे छैन ।
महासंघले समाचारमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ। समाचारसम्बन्धी विवाद समाधानका लागि स्थापित विधिसम्मत प्रक्रियालाई बेवास्ता गर्दै साइबर ब्युरोमार्फत पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संवैधानिक अधिकारसँग सम्बन्धित गम्भीर विषय भएको महासंघको ठहर छ। समाचारमा चित्त नबुझेमा सम्बन्धित निकायमार्फत समाधान खोज्न सम्बन्धित पक्षलाई महासंघले आग्रह गरेकाे छ ।
महासंघले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्दै राज्यसत्ताको आडमा पत्रकारलाई पक्राउ गर्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यताविरुद्ध सन्देश जाने उल्लेख गरेको छ। यस्तो प्रवृत्तिले प्रेस स्वतन्त्रतालाई खुम्च्याउने खतरा बढाएको महासंघको भनाइ छ।
त्यसैगरी, प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्यसत्ताको आडमा यस्तो कार्य हुनु प्रेस स्वतन्त्रतासम्बन्धी स्थापित मान्यताविपरीत रहेको महासंघले जनाएको छ। समाचारमा चित्त नबुझेका विषय भए प्रचलित र स्थापित विधिअनुरुप समाधान नखोजी साइबार व्यूरोमार्फत पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संविधानविरुद्ध रहेको महासंघको ठहर छ ।
यो घटनाले लोकतान्त्रिक मूल्य-मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई खिल्ली उडाउने काम गरेको महासंघको बुझाइ छ । ‘महासंघ प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्य सत्ताको आडमा भएको यो स्वेच्छाचारी शैलीप्रति खेद प्रकट गर्दै कडा भर्त्सना गर्दछ, महासंघ प्रेसविरोधी यस्ता व्यवहार सच्याउन तथा पत्रकार श्रेष्ठलाई बिनाशर्त तत्काल रिहा गर्न सरकारको ध्यानाकर्षण गराउदै समाचारको विषय भए सम्बन्धित निकायमार्फत समाधान खोज्न सम्बद्ध पक्षलाई सचेत गराउँदछ’, विज्ञप्तिमा उल्लेख छ ।
साथै, आफ्नो क्षेत्राधिकारको विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई पनि महासंघले आग्रह गरेको छ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको अधिकारको सम्मान र समाचारसम्बन्धी विवादको कानुनसम्मत समाधानका लागि सम्बन्धित सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेको छ।















प्रतिक्रिया दिनुहोस्