जनता टाइम्स

१ कार्तिक २०८३, शनिबार १७:०४

कांग्रेस सभापति गगन थापाले लिए शपथ, गरे नागरिकप्रतिको दायित्व पूरा गर्ने प्रतिबद्धता


काठमाडौं, असोज ३१। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले शनिबार शपथ ग्रहण गर्नुभएको छ। उहाँले आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा शपथ लिनुभएको हो।

सभापतिमा श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएका थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको थियो भने खड्ग्गीले ३७५ मत प्राप्त गर्नुभएको थियो।

शपथ ग्रहणपछि सभापति थापाले पार्टीको नेतृत्वमा निर्वाचित भएपछि आफूले फरक अनुभूति गरेको बताउनुभयो। विगतमा विभिन्न संघर्ष गर्दै यहाँसम्म आइपुगेको उल्लेख गर्दै उहाँले पद प्राप्तिलाई आफ्नो यात्राको मूल उद्देश्यका रूपमा नलिएको स्पष्ट पार्नुभयो। ‘पदहरू भनेका काम गर्ने क्रममा जोडिएर आउने कुरा हुन्, यो पदको जिम्मेवारी लिन्छु भनेर सुरु गरेको यात्रा होइन,’ उहाँले भन्नुभयो।

सभापति थापाले शपथ ग्रहणलाई केवल औपचारिकताका रूपमा लिन नहुने बताउनुभयो। शपथका क्रममा व्यक्त गरिएका प्रतिबद्धताको वास्तविक परीक्षण आगामी यात्रामा हुने उहाँको भनाइ थियो। विशेषगरी कठिन परिस्थितिमा आफूले लिने निर्णय र निर्वाह गर्ने भूमिकाबाट प्रतिबद्धताको मूल्यांकन हुने उहाँले उल्लेख गर्नुभयो। ‘शपथमा जे बोलें, जे भनें, त्यसको परीक्षण अगाडिको यात्राले बताउनेछ। गाह्रो समयमा मैले निर्णय कसरी लिन्छु भन्ने कुराबाट नै बोलेका कुराको परीक्षण हुन्छ,’ उहाँले भन्नुभयो।

उहाँले नेपाली कांग्रेसको सभापतिको जिम्मेवारीलाई व्यक्तिगत पद, प्रतिष्ठा वा अहंकारका रूपमा बुझ्न नहुनेमा जोड दिनुभयो। पार्टीका संस्थापक तथा अग्रज नेताहरूले अघि बढाउनुभएको राजनीतिक विरासतसँग यो जिम्मेवारी जोडिएको उल्लेख गर्दै उहाँले नागरिकप्रतिको दायित्व पूरा गर्नु आफ्नो प्रमुख जिम्मेवारी भएको बताउनुभयो।

सभापति थापाले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायत नेताहरूले निर्वाह गर्नुभएको ऐतिहासिक भूमिकाको स्मरण गर्दै आफूले पाएको जिम्मेवारीलाई त्यही विरासतसँग जोडेर हेरेको बताउनुभयो। ‘नेपाली कांग्रेसको सभापतिको जिम्मेवारी सामान्य होइन, बीपी, गणेशमान, किसुनजी, गिरिजाप्रसाद कोइरालालगायतले लिनुभएको जिम्मेवारी हो, यो अहंकारको श्रीपेच पनि होइन, यो जिम्मेवारी भनेको नागरिकको जिम्मेवारी पूरा गर्नका लागि भूमिका दिएको हो, पार्टीको विरासत जोगाउने जिम्मेवारी हो,’ उहाँले भन्नुभयो।

यसैबीच, अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण र शपथ ग्रहण गराउने कार्यक्रम दशैँपछि गर्ने तय भएको छ। नयाँ केन्द्रीय समितिका सदस्यहरूले शपथ लिएपछि कार्यसमितिको पहिलो बैठक बस्नेछ।