जनता टाइम्स

१४ पुष २०७९, बिहीबार १८:४८

डिएसपी ठगबहादुर निलम्बित


रूपन्देही, पुस १४ । अवैध असुली आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालले केसीलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको थियो । सिफारिसअनुसार उनलाई गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिनुभयो ।

बुटवलका सुन व्यापारीसँग सुन नियन्त्रणमा लिई रकम माग गरेको सूचना पाएपछि प्रहरी अनुसन्धान टोलीले उनलाई आइतबार पक्राउ गरेको थियो । पक्राउको समयमा उनको निवासबाट ३५ तोला सुन र २५ लाख चेक तथा नगद भेटिएको थियो ।

कास्कीमा सरूवा भएका केसी यही विषय मिलाउन उता हाजिर भएका थिएनन् । सोमबार उता जाने र आइतबार सो रकम व्यापारीसँग लिएको सूचनाका आधारमा प्रहरी अनुसन्धान टोलीले पक्राउ गरेको हो । केसी लामो समयदेखि निवर्तमान गृहमन्त्री बालकृष्ण खाणको नाममा रुपन्देहीमा असुली धन्दामा लागेका थिए ।

खाँण गृहमन्त्रीबाट हटने निश्चित भएसँगै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिने क्रममा सुन र नगद बरामद भएको हो ।