जनता टाइम्स

२० पुष २०७९, बुधबार १६:००

संरक्षण अभावमा लोप हुँदै रैथाने खेल


बुटवल, २० पुस । मधेसलगायत देशका प्रायः सबै क्षेत्रबाट परम्परागत रैथाने खेल लोप हँुदै गएका छन् । विगत तीन दशकको अवधिमा केही रैथाने खेल लोप भइसकेका र केही लोपोन्मुख अवस्थामा पुगेका छन् ।

नेपालको राष्ट्रिय खेलको उपमा पाएको कपर्दी र डन्डिबियो अहिले लोपोन्मुख अवस्थामा छन् । त्यसैगरी बढी खेलिने कुस्ती, चिक्का, लच्चिकडाँडी चटकी–डाँड र लट्ठी लगायतका खेल देखिन छाडेका छन् ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले खेलकुद शब्दलाई परिभाषित गर्ने क्रममा परम्परागत रैथाने खेललाई खेलकुदभित्र समेटेको भए पनि त्यसको आधिकारिकता, संरक्षण र विकासका लागि कुनै पहल गरेको देखिएको छैन ।

परम्परागत रैथाने खेलप्रति सरकारले कुनै चासो नदेखाएको खेलप्रेमी रमेस कुर्मीकोे गुनासो छ । उहाँले भन्नुभयो, “मधेसका लोकप्रिय खो–खो, आठ–काठ, गोबरतोतो, आइस–पाइस, लङ्गड–गोटी, आँखा छोप्ने, खेल त देख्नै पाइएको छैन ।”

बालबालिकामा मोबाइल र इन्टरनेटप्रति बढ्दो आकर्षणका कारण बालापनका रैथाने रोमाञ्चक खेल दिन प्रतिदिन लोप हुँदै गएको मधेस मानव अधिकार गृह ९माहुरी–होम० कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष तथा अवधि संस्कृतिका स्थानीय अभियानकर्ता रामदयाल ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, “पातलाई पैसा मानेर त्यसैबाट सरसामानको खरिद बिक्री गर्ने, रूखको हाँगा हल्लाएर मोटर चढेको महुसस गर्ने वा सलाईको बट्टालाई धागोले जोडेर बनाएको टेलिफोनमा साथी सँगी मिलेर कुराकानी गर्दै खेल्ने बालापनका रोमाञ्चक खेल अहिले लोप भएर गएका छन् ।”

“भँवरा, मौरी वा झिङ्गालाई सलाईको बट्टाभित्र राखेर ‘रेडियो’ बजाउनेदेखि तितली कीराको खुट्टामा धागो बाँधेर उडाउँदै–तान्दै लिइने मनोरञ्जन अहिले केवल इतिहास भएका छन्”, उहाँले भन्नुभयो, “प्रविधिको विकाससँगै अहिलेका बालबालिकाहरू शारीरिक अभ्यास हुने खेल खेल्न छाडिसकेका छन् ।” “हाम्रो पालामा कागजका डुङ्गा बनाएर पानीमा तैराइन्थ्यो । चङ्गा उडाउने प्रतिस्पर्धा हुन्थ्यो, कागजको जहाज उडाइन्थ्यो, गोली–गुच्चा खेलिन्थ्यो । तर अहिलेका बालबालिका मोबाइलमै झुम्मिन्छन् र नानाभाँतिका खेल मोबाइलमै खेल्छन् । परम्परागत रैथाने मनोरञ्जक खेल त अब हराएर गए”, उहाँले थप्नुभयो ।

“अहिलेका बालबालिकाले न साथीसँगी हरुसँग हौसिँदै बालापनमा खेल्नुपर्ने परम्परागत रैथाने खेलहरु खेल्न पाएका छन्, न त यस्ता खेल खेल्न विद्यालय र अभिभावकले नै बालबालिकालाई प्रोत्साहित गरेको देखिन्छ ।” उहाँले दुखेसो पोख्दै भन्नुभयो, “खो–खो, दौड र कुदान ९जम्प०खेल पनि हराउँदै गएका छन् ।”

अहिलेका बालबालिकाहरु फ्री–फायर, पब्जी तथा युवाहरु तास र लुडो जस्ता इन्टरनेटको सहायताले खेलिने शारीरिक अभ्यास विनाका आधुनिक खेलमा एकोहोरो हुँदा सामूहिक भावनामा ह्रास आउने गरेको रामनरेश मावि धकधईमा अध्यापनरत सामाजिक विषयका शिक्षक सिद्धार्थकुमार त्रिपाठीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “परम्परागत रैथाने खेलको एउटै मात्र व्यवस्थित र सर्वमान्य नियम हँुदैन । ठाउँ र खेलको लोकप्रियताका अनुसार यसका नियमहरु केही फरक हुन सक्छन् ।” परम्परागत रैथाने खेल वातावरणमैत्री हुनाका साथै आर्थिक हिसाबले पनि सस्तो रहेको कुस्ती–प्रशिक्षक पहलवान राजेन्द्र यादवले बताउनुभयो ।

शारीरिक स्फुर्ति, मनोरञ्जन र भाइचाराको सम्बन्ध स्थापित गर्न सघाउने यी खेलहरु लोप हुनु जनस्वास्थ्य तथा राष्ट्रिय पहिचान सबैका लागि घाटा हो”, उहाँले भन्नुभयो ।“रैथाने खेलहरु देशका पहिचान, सभ्यता र संस्कृति हुन्”, अन्तर्राष्ट्रियस्तरमा पहिचान जमाएका पूर्वकबड्डी खेलाडी मनोज दनुवारले भन्नुभयो, “यतिबेला नेपालमा क्रिकेट सङ्घ र फुटबल सङ्घबाहेक अन्य खेल सङ्घहरुले राष्ट्रिय अधिवेशनसमेत गर्न नसकेर क्लबमा परिणत भएछन्, यो यहाँका रैथाने खेलका लागि अधोगति हो ।”

खेलकुद मन्त्रालयले रैथाने शारीरिक खेलको संरक्षण र विकासका लागि कुनै सार्थक पहल नगरेको कबड्डी खेलका रेफ्रीसमेत रहेका दनुवारले बताउनुभयो । उहाँले सन् १९७० को दशकमा राष्ट्रिय खेलकुद परिषद्ले रैथाने खेलको खोजी गर्न समिति गठन गरेको भए पनि सार्थक प्रतिफल नदेखिएको उहाँले बताउनुभयो ।

तत्कालीन समयमा कुन खेललाई अन्तर्राष्ट्रियस्तरमा लैजान सकिन्छ रु भन्ने बारेमा सुझाव माग भएको थियो । सोही अध्ययनले ‘नेपालमा सबैभन्दा धेरै खेलिने खेल भलिबल हो’ भन्ने देखाएको थियो । त्यतिबेला रैथाने खेलका बारेमा अध्ययन गरेर प्रतिवेदन पनि तयार पारिएको थियो तर त्यो प्रतिवेदन सार्वजनिक हुन सकेन ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले खेलकुद शब्दलाई परिभाषित गर्ने क्रममा गाउँघरका केही परम्परागत रैथाने खेललाई समेत खेलकुदभित्र समेटेको छ । यस विषयमा तीन दशकअघि खोजी भए पनि पछिल्लो समय खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकूद परिषद् समेतले परम्परागत खेलबारे चासो लिएको देखिएको छैन ।