काठमाडौं, ७ असार । आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ नाराका साथ दिवस मनाउन लागिएको हो ।
अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउने गरिन्छ ।
संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औं महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो ।
उहाँको प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य देशले समर्थन गरेका थिए ।
सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा एक सय ७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ ।
नेपालमा माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।
नेपाल सरकारले २०७२ साल साउन २८ गते तत्कालीन शान्ति मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।
योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण शुरू हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।
अहिले नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ तारिख अर्थात् आजका दिन अन्तर्राष्टिय योग दिवस मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्