काठमाडौं, असोज ८ । देशका अधिकांश भूभागमा आजदेखि वर्षाको गतिविधि थप बढ्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले केही स्थानमा मुसलधारे तथा आरीघोप्टे वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा रातभर वर्षा भएको छ। पाल्पा र कपिलवस्तुमा अन्य क्षेत्रको तुलनामा धेरै वर्षा भएको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा अहिले पनि भारी वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्।
लुम्बिनीका कपिलवस्तु र गुल्मी तथा गण्डकीका तनहुँ, कास्की, स्याङ्जा, पाल्पालगायत आसपासका खोलानालामा जलसतह बढ्दो क्रममा रहेको छ। यद्यपि, बाढी पूर्वानुमान महाशाखाले हालसम्म अवस्था सामान्य रहेको जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ।
मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। मौसमविद् विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा आज राति भारी वर्षाको सम्भावना रहे पनि लामो समयसम्म निरन्तर भारी वर्षा हुने अवस्था देखिएको छैन। पर्सिसम्म हल्कादेखि मध्यम तथा बेलाबेलामा भारी वर्षा हुने क्रम जारी रहनेछ।
मौसम विभागले विशेष बुलेटिन जारी गर्दै आगामी आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी तथा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मधेश, कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव तथा बंगालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै रहेकाले वर्षाको गतिविधि बढेको विभागले जनाएको छ।
असोज ९ देखि ११ गतेसम्म निरन्तर वर्षा हुन सक्ने भएकाले बाढी र पहिरोको जोखिम बढ्ने भन्दै मौसमविद्हरूले लामो दूरीको यात्रा स्थगित गर्न आग्रह गरेका छन्। हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको उच्च जोखिम रहेकाले पदयात्राका लागि पुगेकाहरूलाई सुरक्षित स्थानमा फर्कन तथा यात्रा गर्ने तयारीमा रहेकाहरूलाई यात्रा स्थगित गर्न महाशाखाले आग्रह गरेको छ।
हिमाली क्षेत्रका लागि रेड अलर्ट जारी गरिएको छ। मौसमसम्बन्धी थप जानकारीका लागि टोल–फ्री नम्बर ११५५ मा फोन गरी १ थिचेर जानकारी लिन सकिनेछ।
यसैबीच, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रमुख नदीहरूको बाढी पूर्वानुमान अवधि तीन दिनबाट बढाएर पाँच दिन पुर्याएको छ। नेपालभरका साना नदीमा आकस्मिक बाढीको जोखिम पूर्वानुमान अवधि पनि २४ घण्टाबाट बढाएर ४८ घण्टा पुर्याइएको केन्द्रले जनाएको छ।
खराब मौसम र विपद्को जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घले आजदेखि असोज १२ गतेसम्म लामो दूरी तथा रातिको यात्रा नगर्न आग्रह गरेको छ। महासङ्घले यात्रा गर्नुअघि बाटोको अवस्था र मौसमबारे जानकारी लिन तथा अत्यावश्यकबाहेक यात्रा नगर्न यात्रुसँग अनुरोध गरेको छ।












प्रतिक्रिया दिनुहोस्