काठमाडौं, असोज ८ । झापाको मेचीनगर नगरपालिका–७ भान्साखोलास्थित बङ्गुर फार्ममा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ।
ललितपुरबाट बेपत्ता भएका दिलनाथ बजगाईँको खोजी तथा अनुसन्धानका क्रममा प्रहरीले उत्खनन गर्दा बङ्गुर फार्मभित्र मानव कङ्काल फेला पारेको हो। कङ्काल बजगाईँकै हो वा अन्य व्यक्तिको भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साविक मणिखेल, हाल महाङ्काल गाउँपालिका–१ का बजगाईँ २०८१ कात्तिक २९ गतेदेखि मेचीनगर नगरपालिका–६ काँकडभिट्टाबाट बेपत्ता भएका थिए। उहाँ बेपत्ता भएपछि पत्नी तुलसा बजगाईँले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिनुभएको थियो।
अनुसन्धानका क्रममा बजगाईँसँगै उठबस रहेका म्याग्दीका ४५ वर्षीय ‘राम’ भनिने गुप्तबहादुर सिंहमाथि शङ्का लागेपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। सोधपुछका क्रममा सिंहले देखाएको स्थानमा बुधबार स्थानीय बासिन्दा र जनप्रतिनिधिको रोहबरमा जेसीबी प्रयोग गरी उत्खनन गर्दा मानव कङ्काल फेला परेको हो।
सिंहले स्थानीय जयप्रसाद तिवारीको जग्गा भाडामा लिएर बङ्गुर फार्म सञ्चालन गर्दै आउनुभएको प्रहरीले जनाएको छ।
बरामद कङ्काल परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। पहिचानका लागि डीएनए परीक्षण गर्न नमुना केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बङ्गुर फार्म सञ्चालक सिंहसहित भारतको अलिपुरद्वार, वीरपारा घर भई हाल मेचीनगर–८ बस्ने ४९ वर्षीय सञ्जय लामालाई पक्राउ गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्