जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १६:५६

लोककल्याणकारी विज्ञापनको बिल नबुझ्न पत्रकार महासंघको आग्रह, माग पूरा नभए हुलाक कार्यालयमा तालाबन्दी गर्ने चेतावनी


रामेछाप, असोज ५ । नेपाल पत्रकार महासंघ रामेछाप शाखाले लोककल्याणकारी विज्ञापनसम्बन्धी संशोधित कार्यविधि खारेज नभएसम्म छापा सञ्चारमाध्यमका विज्ञापनबापतका बिल नबुझ्न जिल्ला हुलाक कार्यालय रामेछापलाई आग्रह गरेकाे छ ।

महासंघले सोमबार जिल्ला हुलाक कार्यालय मन्थलीका निमित्त प्रमुख बैकुण्ठ लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै ‘छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ खारेज गर्न माग गरेकाे हाे ।

महासंघले संशोधित कार्यविधिमार्फत लोककल्याणकारी विज्ञापनबापत सञ्चारमाध्यमले पाउने रकममा ५० प्रतिशतसम्म कटौती गर्ने व्यवस्था गरिएको भन्दै आपत्ति जनाएको छ। आर्थिक वर्ष २०८३/०८४ को बजेट संघीय संसद्बाट पारित भइसकेको अवस्थामा बजेटको व्यवस्थासँग प्रत्यक्ष बाझिने गरी सञ्चारमाध्यमलाई असर पुग्ने प्रावधान ल्याइनु उचित नभएको महासंघको भनाइ छ।

ज्ञापनपत्रमा पछिल्लो समय छापा सञ्चारमाध्यम आर्थिक संकटमा रहेको उल्लेख गर्दै कागज तथा मुद्रण सामग्रीको मूल्यवृद्धि र कोभिड–१९ महामारीपछिको आर्थिक प्रभावका कारण सञ्चारमाध्यम सञ्चालनमा थप चुनौती देखिएको जनाइएको छ। यस्तो अवस्थामा सञ्चारमाध्यमलाई राहत र प्रोत्साहन दिनुपर्नेमा थप आर्थिक भार पर्ने नीति ल्याइनु प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका लागि समेत गम्भीर विषय भएको महासंघले जनाएको छ।

महासंघले कार्यविधि खारेजीको माग गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले निरन्तर आवाज उठाउँदै आएको अवस्थामा विज्ञापन बोर्डले भने बिल बुझ्ने प्रक्रिया अघि बढाएको भन्दै असहमति जनाएको छ।

महासंघले कार्यविधि फिर्ता नलिए र विवाद समाधान नगरी बिल बुझ्ने प्रक्रिया अघि बढाइए आन्दोलनका थप कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिनुभएको छ। ज्ञापनपत्रमा जिल्ला हुलाक कार्यालयले बिल बुझ्ने प्रक्रिया अघि बढाए असोज ६ गतेदेखि कार्यालयमा तालाबन्दीलगायतका आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने उल्लेख गरिएको छ।

विज्ञापन बोर्ड काठमाडौं, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र जिल्ला प्रशासन कार्यालय रामेछापलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा महासंघले संशोधित कार्यविधि तत्काल खारेज गरी लोककल्याणकारी विज्ञापनको भुक्तानीसम्बन्धी विवाद समाधान गर्न माग गरेकाे छ।

महासंघका जिल्ला सचिव नवराज श्रेष्ठले ज्ञापनपत्र पढेर सुनाउनुभएको थियो भने जिल्ला अध्यक्ष दीपक घिमिरेले जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख लामिछानेलाई ज्ञापनपत्र बुझाउनुभएको थियो।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, महासंघका पूर्वजिल्ला अध्यक्षहरू, जिल्ला पदाधिकारी तथा सदस्यहरू र विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो।