जनता टाइम्स

७ आश्विन २०८३, बुधबार २०:११

आज रातिदेखि देशका विभिन्न ठाउँमा मुसलधारे वर्षा हुने


काठमाडौं, असोज ७ । बङ्गालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली भारतको उडिसा, पश्चिम बङ्गाल र बिहारलगायत क्षेत्रमा अत्यधिक वर्षा र डुबान गराउँदै नेपालतर्फ सरेपछि आज रातिदेखि देशका विभिन्न ठाउँमा मुसलधारे वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणालीको प्रभाव नेपालमा प्रवेश गरिसकेको छ । यसको प्रभावले असोज ८ देखि १२ गतेसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा लगातार झरी तथा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

मधेश र कर्णाली प्रदेशका केही स्थानमा पनि आगामी दुईदेखि तीन दिनसम्म मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लगातारको वर्षाका कारण नदी तथा खोलामा जलस्तर एक्कासि बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने र तराईका होचा भूभागमा डुबान हुने जोखिम रहेको छ । उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले पदयात्रा तथा पर्वतारोहणमा समेत सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सम्भावित विपद्लाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक कामबाहेक लामो दूरीको रात्रि यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । सुरक्षा निकाय तथा उद्धार टोलीलाई समेत उच्च सतर्क अवस्थामा राखिएको जनाइएको छ ।

यसैबीच कृषि मन्त्रालयले पाक्न लागेको धानबाली जोगाउन किसानलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । तत्काल धान नकाट्न र मौसमको अवस्था हेरेर मात्रै बाली व्यवस्थापन गर्न मन्त्रालयले सुझाव दिएको छ ।