काठमाडौं, असोज ७ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज ८ र ९ गते आवश्यकताअनुसार शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको छ ।
असोज ९ देखि ११ गतेसम्म नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको भन्दै मन्त्रालयले असोज ९ देखि ११ गतेसम्मका निर्धारित परीक्षा पनि आवश्यकताअनुसार स्थगित गर्न भनेको छ ।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित क्षेत्रका विज्ञहरूको पूर्वानुमानअनुसार उक्त अवधिमा बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा अवरोधको जोखिम रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राख्दै स्थानीय तहसँगको समन्वयमा असोज ८ र ९ गते आवश्यकताअनुसार विद्यालय बिदा गर्न निर्देशन दिएको छ ।
त्यस्तै, सबै विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायले असोज ९ देखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्नुपर्ने जनाएको छ ।
सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा स्थानीय तहलाई आवश्यक सहजीकरण गर्न पनि मन्त्रालयले शिक्षण संस्थालाई आग्रह गरेको छ ।
मन्त्रालयले अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन आग्रह गरेको छ ।












प्रतिक्रिया दिनुहोस्