जनता टाइम्स

६ आश्विन २०८३, मंगलवार १२:४५

बसमा आगलागी : मृतक चालकका आफन्त प्रदर्शनमा


काठमाडौं, असोज ६ । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा मृत्यु भएका चालकका आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् ।

घटनाको सत्यतथ्य छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्तिको माग गर्दै मृतकका परिवार तथा समर्थकले मंगलबार कीर्तिपुरस्थित बर्न अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् ।

सोमबार मध्याह्न त्रिपुरेश्वरमा रोकिराखेको थानकोट–मूलपानी चल्ने रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७६ नम्बरको बसमा आगलागी भएको थियो । बसमा त्यसबेला यात्रु थिएनन् ।

प्रहरीका अनुसार बसका चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का २३ वर्षीय अर्जुन दोङले आफैँले शरीरमा आगो लगाउनुभएको थियो । आगलागीमा उहाँको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो ।

गम्भीर घाइते हुनुभएका दोङको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि आफन्त प्रदर्शनमा उत्रिएका हुन् ।

बसमा आगलागी हुनुअघि ट्राफिक प्रहरीसँग उहाँको विवाद भएको देखिने भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

आफन्तले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने तथा परिवारलाई न्याय र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । उनीहरूले शव बुझ्नसमेत अस्वीकार गरेका छन् ।