काठमाडौं, असोज ६ । आउँदो शुक्रबारदेखि आइतबारसम्म देशका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै असोज ९ देखि ११ गतेसम्म केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षा हुन सक्ने जनाएको हो ।
महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
उत्तर अण्डमान सागर तथा आसपास विकसित न्यून चापीय क्षेत्र अहिले बङ्गालको खाडीको मध्य भागमा पुगेको छ । उक्त प्रणाली थप शक्तिशाली हुँदै गहिरो न्यून चापीय क्षेत्रमा परिणत भएर पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको महाशाखाले जनाएको छ ।
यसको प्रभावले बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको छ ।
सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम बढ्नुका साथै शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
वर्षाका कारण नदी, खोला तथा नालामा पानीको बहाव बढ्न सक्ने र दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।
यस्तै, हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।












प्रतिक्रिया दिनुहोस्