जनता टाइम्स

१६ श्रावण २०८०, मंगलवार ०६:५५

असईबाट प्रहरी परिसरमै कुटिए पत्रकार


सप्तरी, साउन १६ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी सहायक निरीक्षक (असई) राजेश्वर महतोले अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार मनोहरकुमार पोखरेलमाथि कुटपिट गरेका छन्।

पीडितको आवाजमा प्रहरी प्रशासनबाट भइरहेका ढिलासुस्तिका विषयमा समाचार संकलन गर्न पुगेका पोखरेलमाथि सोमबार कार्यालय परिसरभित्र महतोले कुटपिट गरेका हुन्।

प्रहरी कार्यालयको मुद्दा शाखामा जबरजस्तीकरणी र गर्भपतन सम्बन्धी मुद्दा प्रहरीले दर्ता गर्न नमानेको पीडित पक्षको गुनासो बुझ्न पोखरेल त्यहाँ पुगेको नेपाल पत्रकार महासंघका सचिव रामनारायण विश्वासले बताउनु भयो। जानकारी लिने क्रममा अपशब्द बोल्दै पत्रकार पोखरेलमाथि असई महतोले कुटपिट गरेको उहाँले बताउनु भयो।

धनुषाको मिथिला नगरपालिका घर भएका महतो जिल्ला प्रहरी कार्यालयको नागरिक सहायता कक्षमा कार्यरत छन्। उनले पत्रकार पोखरेलको आँखा र सम्वेदनशील अंगमा बुटले हानेको तथा अनुहारमा मुक्का प्रहार गरेको प्रत्यक्षदर्शीले बताए।

घाइते पोखरेलको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको श्रीमती नानीमैया कटवालले बताउनुभयो । उहाँ खतरामुक्त रहे पनि सम्वेदनशील अंगमा प्रहार भएकाले चिकित्सकसँग सल्लाह गरी थप उपचारका लागि बाहिर लैजाने वा त्यहीँ गर्ने निर्णय लिइने उहाँले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सल्लाहकार र इन्सेक प्रतिनिधिसमेत रहेका पोखरेलमाथि भएको घटनाको विषयलाई लिएर दुवै संस्थाले फरक–फरक विज्ञप्ति जारी गरेका छन्।

घटना लगत्तै सचिव विश्वासको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पुगेको पत्रकारको टोलीले प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीलाई भेटगरी यथाशीघ्र कुटपिट गर्ने असई महतोमाथि कारबाही गर्न माग गरेको छ। अन्यथा संघर्षका कार्यक्रम चलाउन महासंघ बाध्य हुने सचिव विश्वासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

जवाफमा एसपी कार्कीले जिल्ला प्रहरीको तर्फबाट क्षमायाचना गर्दै कुटपिट गर्ने असई महतोमाथि कानून बमोजिम तीन दिनभित्र कारबाही गर्ने प्रतिबद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा नागरिकलाई सूचित गराउने अधिकार बोकेका सञ्चारकर्मीलाई यसरी जिल्ला प्रहरी कार्यालयमै असईबाट कुटपिट हुनु प्रेसमाथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ।

पछिल्लो केही दिनदेखि सप्तरीका प्रहरी प्रशासनको तर्फबाट यसरी नै प्रेसविरुद्धको क्रियाकलाप हुँदैगएकाले यस्ता घटनालाई नियन्त्रण गर्न र संविधानमै उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रतालाई कायम गर्न विज्ञप्तिमार्फत गृहमन्त्रालयको समेत ध्यानाकर्षण गराइएको छ।

इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले मानव अधिकार ज्यादती विरुद्ध पीडितको सहायताका लागि जिल्ला प्रहरी कार्यालय पुगेका पोखरेलमाथि असई महतोले कार्यालय परिसरमा कुटपिट गरेको घटनाले प्रहरी ज्यादतीको निरन्तरता झल्कको बताएका छन्।

‘मानव अधिकारको परिपालना गर्दै शान्ति सुरक्षा बहाल गर्ने दायित्व निर्वाह गर्नुपर्ने जिम्मेवार निकाय प्रहरी कार्यालय परिसरभित्र सुपरिचित मानव अधिकार रक्षक र पत्रकारमाथि गुण्डागर्दीको शैलीमा बल प्रयोग गर्ने प्रहरीउपर कारबाही अघि बढाएर मानव अधिकारप्रतिको प्रतिबद्धतामा कायम रहन हामी सरकार समक्ष जोडदार माग गर्दछौँ’, अध्यक्ष अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रेस चौतारी नेपाल केन्द्रीय समिति र मधेश प्रदेश समितिले पनि बिज्ञप्ती जारी गरी आक्रमणको निन्दा गर्दै कडा कार्वाहीको माग गरेको छ ।