जनता टाइम्स

१ भाद्र २०८०, शुक्रबार १६:०७

धुलिखेलको फोहोर व्यवस्थापन गर्न कोरियाली प्रविधि भित्र्याउन सम्झौता, मेयर अशोकद्धारा वैकल्पिक ऊर्जा उत्पादन केन्द्रको अबलोकन


काठमाडौं, १ भदौ । नेपालको पर्यटकीय क्षेत्र धुलिखेल नगरपालिकाको फोहोर ब्यवस्थापन गर्न दक्षिण कोरियाली कम्पनीबीच सम्झौता भएको छ । दक्षिण कोरियामा ्आज भएको सम्झौता अनुसार यो प्रविधि भेरी नगरपालिकामा पनि लागु हुने बताइएको छ । कोरियाको ग्लोबल कम्पनीबीच दक्षिण कोरियाको भ्रमणमा रहनुभएका धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ र भेरी नगरपालिका मेयर सि.पि घर्ती मगरले सम्झौता गर्नुभएको हो ।

दुबै नगरपालिकामा कुहिने वस्तुबाट मल बनाउन कोरियाली प्रणाली स्थापना गरिने भएको जनाइएको छ । बढ्दो शहरीकरणसंगै धुलिखेल नगरपालिकाको उचित डम्पिङ साइट नहुँदा फोहोर ब्यवस्थापन निकै चूनौती बन्दै गइरहेको भन्दै त्यसको व्यवस्थापनका लागि यो सम्झौता गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,‘सम्झौता कार्यान्वयनमा आएपछि कुहिने फोहोरलाई मल उत्पादन गरिनेछ ।’ धुलिखेल नगरपालिकाका मेयर श्रेष्ठले कोरियामा रहेको वैकल्पिक ऊर्जा उत्पादन केन्द्र कोरिया सुपर इनर्जी इन्डस्ट्रिको भ्रमण गर्नुभएको हो ।

उहाँले थप्नुभयो,‘हाम्रो देश बिकासको लागि एलएनजीबाट उर्जा उत्पादन गर्ने प्रणाली उपयुक्त र सस्तो हुन्छ त्यसकारण पनि यो धेरै राम्रो हो ।’ उहाँले अब यस सम्झौता पछिका दिनले कार्बन उत्सर्जन न्युनिकरणमा पनि योगदान गर्ने जानकारी दिनुभयो । औद्योगिक मुलुक कोरियामा उर्जाको चरम संकट छ । कोरियाले हाल बिजुली ६० प्रतिशत कोइला, ग्यास र न्युकिलियर प्लान्टबाट उत्पादन गर्दै आएको छ । कोरियाले सबैभन्दा कम बिजुली पानीबाट उत्पादन गर्दै आएको छ जसमा ६ प्रतिशत मात्रै पानीवाट उत्पादन हुन्छ ।