रामेछाप, कात्तिक १० । रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबास स्थित सल्लेनी वनमा रहेको जननेता मदन भण्डारीको सालिक तोडफोड गरिएको एक हप्ता हुन लाग्दा पनि घटनामा संलग्न माथि कारबाही भएको छैन ।
पकरबासको सल्लेनी वनमा निर्माण गरिएको मदन भण्डारी पार्कमा राखिएको मदन भण्डारीको सालिक महाअष्टमीको राती तोडफोड गरिएको थियो । महाअष्टमीको राति पार्कको सालिकको एउटा गोडा भाँचेर फालिएको छ । त्यस्तै सालिकका विभिन्न भागमा डुङ्गाले हानेर तोडफोड गरिएको छ ।
डोरमणि पौडेल वाग्मती प्रदेशको मुख्यमन्त्री र कैलाशप्रसाद ढुङ्गेल आर्थिक मामिला तथा योजना मन्त्री हुँदा वाग्मती प्रदेश सरकारको केही बजेट तथा खाँडादेवी गाउँपालिका, वडा कार्यालय लगायतको आर्थिक श्रोतका साथै स्थानीयले श्रमदान गरी पार्क र सालिक निर्माण गरिएको थियो ।
मन्थली–गाल्पा सडकसँगै जोडिएको सदरमुकाम मन्थली तथा खाँडादेवी गाउँपालिकाको केन्द्रबाट समेत पायक पर्ने गरी सो पार्क निर्माण गरिएको थियो । कैलाश ढुङ्गेल आर्थिक मामिला तथा योजना मन्त्री भएकै बेला मन्थली–गाल्पा सडकको मन्थली–पकरबास सडक खण्ड तथा सित्खादेखि गोगनपानीसम्मको सडक पिच गर्नुका साथै पकरबासदेखि गाल्पासम्मको पिचको प्रक्रिया समेत अघि बढेको थियो ।
सोही बिचमा सो क्षेत्रमा तामाकोसी र सुनकोसीको पानी लिफ्ट गरी खानेपानीको व्यवस्था मिलाइएको थियो । धार्मिक तथा पर्यटन प्रवर्धन कार्यक्रम अन्तर्गत खाँडादेवी मन्दिरको पुरातात्विक हिसाबले पुनर्निर्माण, गोगनपानीमा भ्यु टावर निर्माण लगायतका काम भएपछि पकरबासको गढीसँगै मदन भण्डारी पार्क निर्माणको काम गरिएको थियो ।
पर्यटनसँग जोड्ने गरी निर्माण गरिएको सो पार्क निर्माण सम्पन्न भएसँगै मन्थलीबाट पार्क घुम्ने आउने क्रम सुरु भएको थियो । यस अघि पनि सो पार्कको गेटमा लगाएको ताला पटक पटक फोडिएकोमा यस पटक सालिक नै तोडफोड भएको खाँडादेवी गाउँपालिका–५ का वडाध्यक्ष मनोज पौडेलले बताउनुभयो ।
नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले मदन भण्डारीको सालिक तोडफोड र आक्रमण नेकपा एमाले र सिङ्गो कम्युनिष्ट आन्दोलन माथिको आक्रमण मात्र नभएर सामाजिक संरचना माथिकै आक्रमण भएको बताउनुभयो ।
‘त्यस्ता व्यक्तिले भोलि अन्य सार्वजनिक संरचना पनि तोडफोड गर्छ, पानीका मुहान बन्द गर्न सक्छन्, खानेपानीको पाइप काट्न सक्छन्, यो सामाजिक अपराध हो, यस्ता मानिसलाई कारबाहीको दायरामा ल्याउनु पर्छ’, उहाँले भन्नुभयो ।
नेकपा एमाले रामेछापमा अध्यक्ष अनन्द श्रेष्ठले पनि सो कार्य गम्भीर आपराधिक कार्य भएको भन्दै घटनाको दोषीलाई खोजी गरी कारबाही गर्न राज्यका निकायसँग माग गर्नुभयो । पार्टीको तर्फबाट पनि सो घटनाको सूक्ष्म निगरानी गरिएको बताउँदै श्रेष्ठले दोषी उम्कन नसक्ने बताउनुभयो ।
नेकपा एमाले खाँडादेवी गाउँ पार्टी अध्यक्ष पुष्कर कार्कीले यस विषयमा आफूले इलाका प्रहरी कार्यालय खाँडादेवीको प्रहरीसँग कुरा गरेको बताउनुभयो । दशैँको कारण आफू सो स्थानमा पुग्न नसकेको बताउँदै शुक्रबार जाने प्रहरीलाई पनि अनुसन्धानको लागि अनुरोध गरिएको उहाँले बताउनुभयो । ‘पार्टीको तर्फबाट पनि घटनाको अनुसन्धान भइरहेको छ, राज्यका निकायमा पनि औपचारिक रूपमा निवेदन गर्छौँ’, उहाँले भन्नुभयो ।
उता रामेछाप प्रहरीले तोडफोडको घटनामा संलग्नको खोजी जारी रहेको जनाएको छ । जंगलको बिचमा घटना भएकोले दोषीको पहिचानमा केही ढिलाइ भएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्