जनता टाइम्स

२ श्रावण २०८३, शनिबार १९:४१

सरकारले जनविश्वास गुमायो, पाँच वर्ष टिक्दैन : कुलमान घिसिङ


काठमाडौं, साउन  २  । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले वर्तमान रास्वपा नेतृत्वको सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै पाँच वर्षसम्म सरकार टिक्ने आधार अहिलेसम्म नदेखिएको बताउनुभएको छ।

शनिबार काठमाडौंमा पार्टीको खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले सरकारले आम नागरिक तथा निजी क्षेत्रलाई विश्वास दिलाउन नसक्दा मुलुकमा निराशा बढ्दै गएको उल्लेख गर्नुभयो।

उहाँले बढ्दो निराशाकै कारण केही व्यवसायी र युवाहरूले आत्मदाहजस्ता दुःखद निर्णय लिनुपरेको अवस्था सिर्जना भएको भन्दै त्यसप्रति सरकार केही हदसम्म जिम्मेवार रहेको टिप्पणी गर्नुभयो।

दुईतिहाइ नजिकको जनसमर्थन प्राप्त सरकारले जनताको आशा र भरोसालाई निराशामा बदल्न नहुने उल्लेख गर्दै उहाँले वर्तमान कार्यशैलीमा सुधार नआए मुलुक पुनः अस्थिरता र द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिनुभयो। सरकार पाँच वर्ष पूरा गरोस् भन्ने आफूहरूको चाहना भए पनि हालसम्मको कामले त्यस्तो संकेत नदिएको उहाँको भनाइ थियो।

अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी कुनै क्षणिक राजनीतिक लाभ वा ‘स्टन्ट’का आधारमा अघि नबढ्ने स्पष्ट पार्दै मुलुकका जुनसुकै चुनौतीको सामना गर्न पार्टी तयार रहेको बताउनुभयो। विगतमा अर्को दलसँग एकीकरण गर्नु गल्ती भएको अनुभव सुनाउँदै उहाँले अब कुनै पनि परिस्थितिमा पार्टीको अस्तित्व समाप्त हुने गरी अर्को दलमा विलय नहुने स्पष्ट गर्नुभयो।

उहाँले वर्षायामपछि देशव्यापी तीनमहिने जनसम्पर्क अभियान सञ्चालन गरिने जानकारी दिँदै प्रत्येक गाउँपालिकामा पुगेर जनताका समस्या बुझ्ने र समाधानका एजेन्डा अघि सार्ने बताउनुभयो।

साथै, आगामी स्थानीय र प्रदेश निर्वाचनमा उज्यालो नेपाल पार्टीले सफलता हासिल गर्ने तथा त्यसपछिको संघीय निर्वाचनमा पनि जनताको प्रमुख रोजाइ बन्ने दाबी उहाँले गर्नुभयो।