जनता टाइम्स

२० कार्तिक २०८०, सोमबार १७:४०

भूकम्पपीडितको उपचार र राहतमा जुटने एमाले जनसंगठन संयन्त्रको निर्णय, सरकारी ढिलाईप्रति गम्भीर ध्यानाकर्षण


काठमाडौं, कात्तिक २० । नेकपा एमालेका सवै जन संगठनहरुले भूकम्प पीडितको सेवामा जुटने निर्णय गरेका छन । एमाले केन्द्रीय कार्यालय च्यासलमा आज बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।

एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहनुभएको बैठकले अहिलेसम्म जनसंगठनहरुको तर्फबाट भइरहेको उद्धार तथा राहतको कामप्रति धन्यवाद दिँदै प्रभावित क्षेत्रमा भूकम्पपछि फैलन सक्ने महामारीप्रति सचेत हुँदै काम अघि बढाउने निर्णय गरको संयोजक भानुभक्त ढकालले बताउनु भयो ।

ढकालका अनुसार बैठकले भूकम्पमा परेर ज्यान गुमाउने मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकले बिना भेदभाव घाइतेको उपचारको उचित प्रबन्ध र राहतको प्रभावकारी ब्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षणसमेत गरेको छ ।

‘घाइतेको उद्धारमा पनि भेदभाव भयो भन्ने गुनासो आएको छ, गम्भीर घाइतेलाई छाडेर सामान्य घाइतेको उद्धार पहिला भयो भन्ने गुनासो आउनु राम्रो होइन, बिपदको बेला सरकार अभिभावक बनेर आवश्यकताअनुसारको सवै प्रबन्ध गर्नुपर्छ,’ बैठकको निर्णय उधृत गर्दै संयोजक ढकालले भन्नुभयो ।

उहाँले उद्धारमा जस्तै राहत बितरण र उपचारमा भेदभाव नहोस भन्नेतर्फ सरकार सचेत हुनुपर्नेमा बैठकले जोड दिएको जानकारी पनि दिनुभयो । ‘बिपदको बेला राजनीति भन्दा माथि उठेर मानवीय सेवामा लाग्नुपर्छ भन्ने स्पष्ट मान्यताका साथ हामी सरकारको साथमा छौं तर पीडामा परेका नागरिकले अझै राहत पाएनन भन्ने कुरा सुन्दा दुःख लागेको छ,’ बैठकको निर्णय सुनाउँदै ढकालले भन्नुभयो ।

ढकालले एकद्वार प्रणालीबाट राहत बितरण उचित नै भए पनि जिल्ला प्रशासन र स्थानीय तहमा राहत थन्क्याएर तीन दिनसम्म पीडितले नपाउनु चिन्ताजनक ब्यवहार रहेको बैठकले ठहर गरेको पनि जानकारी दिनुभयो ।

ढकालका अनुसार बैठकलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले भूकम्पपीडितको सहयोगमा सवै जनसंगठनहरु प्रभावकारी रुपमा खटन निर्देशन दिनुभएको थियो । महासचिव पोखरेलले जाजरकोट र रुकुम पश्चिममा भएको क्षतीको अवस्था र अवको चुनौतीसमेत राख्दै तत्कालका लागि सुरक्षित प्रकारका टेन्टहरुको आवश्यकता रहेको बताउनु भयो ।

महासचिव पोखरेलले पार्टीको तर्फबाट टेन्टलगायत अन्य राहत सामाग्रीको बिषयमा पहल भइरहेको जानकारी दिँदै तत्काल आवश्यक सामाग्री जुटाएर पीडितको पीडामा मलम लगाउन समेत जनसंगठनहरुलाई निर्देशन दिनुभएको संयन्त्रका सदस्य तथा प्रैस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार बैठकमा बिभिन्न बिकल्पको बिषयमा छलफल भएको छ ।