काठमाडौं, कात्तिक २२ । शुक्रबार मध्यराती जाजरकोटको बारेकोटस्थित रामीडाँडामा ६.४ म्याग्निच्युडको भूकम्प गएयता अहिलेसम्म ४ सय ३९ पटक परकम्प गएका छन । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार त्यसमध्ये ४ म्याग्निच्युडभन्दा माथिका १० वटा परकम्प गएको छ । जसमा सबैभन्दा ठूलो परकम्प सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको रहेको थियो ।
सामान्यतः परकम्पहरू प्रमुख भूकम्पभन्दा १ इकाइ कम हुने गरेको छ । तर सोमबारको परकम्प त्योभन्दा ठूलो थियो । मंगलबार दिउँसो बाजुरालाई केन्द्रबिन्दु बनाए ४ म्याग्निच्युडको परकम्प गए पनि त्यो जाजरकोट भूकम्प नभई एक महिनाअघि गएको बझाङ भूकम्पको परकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताउनु भयो । मंगलबार बाजुरामा गएको भूकम्प जाजरकोटको नभई गत महिना बझाङमा गएको भूकम्पको परकम्प हो ।
सामान्यतया साना भूकम्प र परकम्पले भूगर्भमा लामो समयदेखि सञ्चित इनर्जी बाहिरिने र तत्काल ठूला भूकम्पको जोखिमलाई कम गर्ने भूकम्पविदहरू बताउँछन । तर, भट्टराई पश्चिम नेपालमा सयौं वर्षदेखि ठूलो भूकम्प नगएका कारण स–साना परकम्प जाँदैमा महाभूकम्पको जोखिम कम भएको ठान्न नहुने बताउनु हुन्छ । उहाँका अनुसार ५ म्याग्निच्युडका ३२ वटा भूकम्प गयो भने ६ म्याग्निच्युडका भूकम्प बराबरको इनर्जी बाहिरिन्छ ।
त्यसैगरी ७ म्याग्निच्युड बराबरको इनर्जी बाहिरिन ५ म्याग्निच्युडका हजार वटा भूकम्प जानुपर्दछ । शनिबार मात्रै ४.२ म्याग्निच्युडका दुई, ४.३, ४.५ र ४.६ म्याग्निच्युडका गरी ५ वटा परकम्प गएको थियो । त्यसैगरी आइतबार ४ र ४.१ म्याग्निच्युड र सोमबार ५.८ तथा ४.५ म्याग्निच्युडका दुई वटा परकम्प गएका थिए । सबै परकम्पको केन्द्रबिन्दु रामीडाँडा नजिकै रहेका छन । सोमबार जाजरकोट रामीडाँडालाई केन्द्रबिन्दु भएको गएको ५.८ म्याग्निच्युडको भूकम्प जाँदा थप १६ जना घाइते भएका छन् ।
शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पले ३५ हजार परिवार घरबारविहीन भएका छन् । जाजरकोट र रुकुम पश्चिमलगायत १३ जिल्लामा १७ हजार ७ सय ९२ घर पूर्ण रूपमा भत्किएका छन । त्यस्तै १७ हजार ५ सय २९ कच्ची घर चर्किएकाले बस्न नमिल्ने अवस्थामा छन् । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी घर रुकुम पश्चिममा भत्किएका छन् । यो जिल्लामा १६ हजार ५ सय ७० घर पूर्ण रूपमा र ९ हजार ९ सय ६१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै जाजरकोटमा १ हजार १ सय ७० घर पूर्ण रूपमा र ७ हजार १ सय ६६ घर आंशिक रूपमा भत्किएका छन् ।
सबैभन्दा बढी मानवीय क्षति भने जाजरकोटमा भएको छ । भूकम्पबाट १ सय ५३ जनाको मृत्यु भएकामा १ सय १ जना जाजरकोटका छन । यो जिल्लामा १ सय ३३ जना घाइते छन् । त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १ सय ९७ जना घाइते छन् । भूकम्पको धक्काले रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्यूठान र अछाममा कुनै न कुनै रूपमा प्रभावित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्