जनता टाइम्स

२२ कार्तिक २०८०, बुधबार १६:३१

मंसिर १४ बाट मध्यपहाडी लोकमार्गमा झुलाघाट–चिवा भन्ज्याङ अभियान सञ्चालन गर्ने एमालेको निर्णय, यस्तो छ कार्यक्रम सूची


काठमाडौं, कात्तिक २२ । नेकपा एमालेले पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवा भन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अभियान थाल्ने निर्णय गरेको छ । एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले मंसिर १४ गतेदेखि उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले दिनुभएको जानकारीअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलामा अवस्थित झुलाघाटमा अभियानको थालनी गर्नुहुनेछ । अध्यक्ष ओलीले मंसिर १४ गते राष्ट्रिय झण्डा फहराएर झुलाघाटबाट अभियानको शुभारम्भ गर्ने उपमहासचिव ज्ञवालीले बताउनु भयो ।

बैठकले अभियान सुरूवात भएपछि मध्यपहाडी लोकमार्गका विभिन्न १२–१३ स्थानमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । अभियानका क्रममा केही स्थानमा हिमाल र तराईका क्षेत्रलाई पनि जोडेर लैजाने निर्णय भएको ज्ञवालीले बताउनु भयो ।

पछिल्लो समय पहाडमा पूर्वाधारको विकास भए पनि त्यहाँका जनताहरू क्रमशः तराई वा सहरी क्षेत्रमा बसाई सराई गर्ने प्रचलन बढेको भन्दै एमालेले उक्त अभियान सञ्चालन गर्न लागेको उपमहासचिव ज्ञवालीको भनाई छ ।

’नेपालमा हिमाल, पहाड र तराई गरी भौगोलिक बनावट भए पनि पहाडी क्षेत्र असाध्यै महत्वपूर्ण छ। पहाडी क्षेत्रमा पूर्वाधार पुगे पनि त्यहाँका नागरिकहरू तराई र सहर छिर्ने प्रचलन बढ्दो छ। त्यहाँको चुनौती के छन्। पहाडलाई कसरी समृद्धि बनाउन सकिन्छ भनेरै यो अभियान गर्ने निर्णय गरिएको हो,’ ज्ञवालीले भन्नुभयो ।

एमालेले पहाड समृद्धि नभएसम्म देश समृद्धि बन्न नसक्ने भन्दै पार्टीका केन्द्रीय, प्रदेश र जिल्लाको टोलीसमेत परिचालन गर्ने निर्णय गरेको छ । एमालेको अभियान पाँचथरको चिवा भन्ज्याङमा पुगेर टुंगिने छ ।