सिन्धुली, कात्तिक ३० । सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ ।
दुधौली नगरपालिका वडा नम्बर १० का ३० वर्षीय विमल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।
डीएसपी दाहालका अनुसार बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका थापा बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटिएपछि थापालाई सिन्धुली जिल्ला अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
विमलको मृत्युको कारण खुलेको छैन । थापाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ । पोष्टमार्टमपछि थप अनुसन्धान हुने प्रहरीको भनाई छ । मृतक थापा सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि थुनामा थिए ।
प्रतिक्रिया दिनुहोस्