जनता टाइम्स

२ मंसिर २०८०, शनिबार ११:३८

लप्सीफेदीमा सबस्टेसन र सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा प्रहरीमाथि आक्रमण, डिएसपीसहित तीन जना प्रहरी घाइते


काठमाडौं, मंसिर २ । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा सबस्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा सुरक्षाकर्मी (सशस्त्र प्रहरी र नेपाल प्रहरी) माथि स्थानीयले आक्रमण गरेका छन ।
स्थानीयले ढुंगामुढा गर्दा डीएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएका छन् । सुरक्षाकर्मीमाथि आक्रमण गरेको अभियोगमा प्रहरीले स्थानीय जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा, हर्कमान वाइवासहित चार जनालाई पक्राउ गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ४००-२२०-१३२-११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) को नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा शुक्रबार बेसक्याम्प स्थापना गर्न जाँदा स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए । त्यसक्रममा डिएसपी देवराज राईसहितका सुरक्षाकर्मी घाइते भएका हुन् ।

झडपका कारण बेलुकासम्मै लप्सीफेदी क्षेत्र तनावग्रस्त भएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जना र नेपाल प्रहरीका एक जना गरी तीन जना सुरक्षाकर्मी घाइते भएको जानकारी दिनुभयो ।

लप्सीफेदीमा सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने ५० जना जग्गाधनीहरुको करिब १७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । जग्गाधनीहरुले मुआब्जा तथा क्षतिपूर्ति रकम पनि राजीखुसीले बुझिसकेका छन ।

जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । मुआब्जा तथा क्षतिपूर्ति बापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको नेपाल विद्युत प्राधिकरणको रेकर्ड छ । तर, राष्ट्रिय सिमान्तीकरण विरुद्ध अभियान –समान, नेपाल) नाममा सबस्टेसन निर्माणमा अवरोध भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयका जायज मागलाई पूरा गरिएको तर केही गैरसरकारी संस्था र असम्बन्धित व्यक्तिहरुको उक्साहटका कारण सबस्टेसन निर्माणमा अवरोध भइरहेको बताउनु भयो । सबस्टेसन निर्माणमा त्यहाँका स्थानीयले भने सहयोग गरिरहेको घिसिङले बताउनु भयो ।

उहाँले लप्सीफेदीसम्म विद्युत् ल्याउन प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको र यदि सबस्टेसन निर्माण गर्न नसकिएमा उक्त विद्युत् प्रवाह गर्न नसकी काठमाडौं उपत्यकामा लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै आउनु भएको छ । सवस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ ।

नयाँ खिम्ती–बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । लप्सीफेदी सवस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायण १३२ केभी. सवस्टेसन सम्पन्न हुने चरणमा छ ।प्राधिकरणले सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेको र उपलब्ध विकल्पहरुमध्ये हाल छनोट गरिएको स्थान नै सबैभन्दा उत्तम रहेकाले सवस्टेसन अन्यत्र सार्न नसकिने बताउँदै आएको छ ।

पहिलो ठेकेदारले काम गर्दा लप्सीफेदीमा कुनै विरोध भएको थिएन । तर, दोस्रो ठेकेदार काम गर्न गएपछि काममा अवरोध भइरहेको छ । अवरोधका कारण हालसम्म सवस्टेसन निर्माणस्थलमा कुनै पनि कार्य प्रगति हुन सकेको छैन ।