काठमाडौँ, १७ असार । निजामती विधेयकमा राखिएको कुलिङ पिरियडमा किर्ते भएको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले सभापति रामहरि खतिवडाको राजीनामा माग्ने तयारी गरेका छन् । विधेयकमा किर्ते गरेर कुलिङ पिरियड हटाउने शब्द घुसाएको भन्दै यसको नैतिक जिम्मेवारी सभापति रामहरिले खतिवडाले लिनुपर्ने सांसदहरूको भनाइ छ ।नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले यस्तो गम्भीर लापरवाही समिति सभापतिको सहयोगविना नहुने भन्दै राजीनामा दिनुपर्ने बताउनुभयो ।
‘विधेयकमा गम्भीर लापरबाही भएको छ । यसको छिनोफानो हुनुपर्छ र समिति सभापतिले राजीनामा दिनुपर्छ’, नेता पाण्डेको भनाइ छ । एमाले सांसद पदम गिरीले पनि सभापति खतिवडाको राजीनामा मागिने बताउनुभयो । ‘कर्मचारीको मात्र लापरबाही भन्न मिल्दैन यसमा सभापतिको समेत हात हुनसक्छ । त्यसैले उहाँको राजीनामा र छानबिन हुन जरुरी छ’, गिरीको भनाइ छ ।
यसैबिच समिति सभापति खतिवडा सभामुख देवराज घिमिरेलाई भेट्न सभामुखको कार्यकक्षमा गएका छन् । खतिवडा सभामुखसँगको छलफलमा गएपछि राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुन सिंहदरबारमा पुगेका सांसदहरु सभापतिलाई कुरेर बसेका छन् ।
समितिको बैठक बिहान ८ बजेलाई बोलाइएको थियो । तर कुलिङ पिरियडको विषय आएपछि सांसदहरूले यसको छिनोफानो नभएसम्म बैठक अघि बढ्न नसक्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्