काठमाडौं, भदौ २९ । इन्द्रजात्रा पर्व अवलोकनका लागि काठमाडौं महानगरपालिकाको पहिलो र औपचारिक निमन्त्रणामा नेपाल आउनुभएका विदेशी पाहुनाहरूले विभिन्न स्थानको भ्रमणपछि उत्साहित भएको प्रतिक्रिया दिनुभएको छ । इन्द्रजात्राको अवलोकनसँगै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित विश्वसम्पदा सूचीमा सूचिकृत स्थानहरु स्वयम्भू, भक्तपुर, ललितपुर दरबार क्षेत्रसँगै चन्द्रागिरीको समेत भ्रमण गर्नुभएका विदेशी पाहुनाले नेपाल र नेपालीको न्यानो स्वागतको खुलेर प्रसंशा गरेका छन ।
काठमाडौँ महानगरपालिकाले चीन, भारत, अमेरिका, जापान र भुटानका ११ नगरपालिकाका ४१ विदेशी पाहुनालाई शुक्रबार काठमाडौंको पुरानो भित्री शहरका विभिन्न स्थानहरुको अवलोकन भ्रमण गराएको थियो भने शनिबार चन्द्रागिरी र स्वयम्भूको भ्रमण गराएको थियो । आइतबार भने भक्तपुर र पाटन दरबार क्षेत्रको अवलोकन गराएको थियो । शनिबार चन्द्रागिरी र स्वयम्भूको अवलोकन भ्रमणपछि निकै उत्साहित बन्नुभएका उहाँहरुले आइतबारको भ्रमणले थप उत्साहित भएको प्रतिक्रिया दिनुभएको छ ।
‘भक्तपुर दरबार क्षेत्रको अवलोकनकै क्रममा संक्षिप्त कुराकानी गर्दै भारतको नर्थ दिल्ली नगरपालिकाका मेयर अवतार सिंहले भन्नुभयो, ‘नेपाल भ्रमण मैले सोचे भन्दा धेरै राम्रो भयो । यहाँका कला, संस्कृति र सम्पदाको संरक्षण गर्ने र जिवन्तता दिने शैलीले थप प्रभावित भएँ ।’ उहाँले नेपालको प्रकृति र सम्पदाबाट प्रभावित भएको भन्दै आफ्नो देश र नगरका जनतालाई पनि यसबारेमा जानकारी दिने बताउनुभयो । ‘स्वयम्भूको विज्ञान संग्राहलय, चन्द्रागिरी र भक्तपुरका विभिन्न स्थानलगायतको अवलोकनपछि नेपाल साच्चिकै सुन्दर रहेछ भन्ने मलाई लाग्यो,’ उहाँले थप्नुभयो, ‘म मेरो देश र नगरका जनतालाई नेपालमा शान्ति छ, घुम्नलायकका स्थान छन, नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नेपाल घुम्न जानुहोला म घुमेर आएँ भन्ने सन्देश दिन्छु ।’
सिंह मात्र होइन चीनको लाञ्जााउ कमिटि अफ द सिपिपिसिसिका उपाध्यक्ष ज्याङ् सिओहाङले नेपाल भ्रमणबाट उत्साहित भएको प्रतिक्रिया दिनुभयो । ‘नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बनाउन यो भ्रमणले थप हौसल्ला मिलेको छ,’ उहाँले भन्नुभयो, ‘हामी नेपालसँग शिक्षा, स्वास्थ्य र व्यापारको क्षेत्रमा थप समन्वय गर्न चाहन्छौँ ।’ उहाँले नेपाल कला, संस्कृति र सम्पदाको धनी देश रहेछ भन्ने जानकारी पनि भ्रमणबाट प्राप्त भएका प्रतिक्रिया दिनुभयो । ‘यहाँका संस्कृति सम्पदा र इन्द्रजात्रामा नेपाली जनताले देखाएको उत्साह अनि संस्कृति,सम्पदाप्रतिको सम्मान देखेर म थप प्रभावित भएँ ।’
उपाध्यक्ष ज्याङ् सिओहाङले आफूले यहाँको संकृति सम्पदाका बारेमा पहिला पनि सुनेको र यहाँ आउँदा थप प्रभावित भएको बताउनुभयो । उहाँले पर्यटन वर्ष २०२० लाई लक्षित गरेर काठमाडौँ महानगरपालिकाले इन्द्रजात्राको अवसर पारेर विदेशी पाहुना बोलाएर राम्रो गरेको पनि बताउनुभयो । उहाँले नेपालीले गरेको सम्मानबाट प्रभावित भएको समेत बताउनुभयो । भक्तपुरको अवलोकन भ्रमणपछि पाटन दरबार क्षेत्र पुग्नु भएका भूटानको थिम्पू नगरका मेयर किन्ले दोर्जीले यो भन्दा पहिला पनि नेपाल आएको भन्दै पहिला आउँदा भूकम्पले ध्वस्त भएको नेपाल पुर्न्निर्माणपछि थप सुनदर देखिएको भन्दै प्रसंषा गर्नुभयो ।
उहाँले आफू पनि बौद्धमार्गी भएकाले यहाँको संस्कृतिबाट थप प्रभावित भएको बताउनुभयो । मेयर किन्ले दोर्जीले काठमाडौंका पुराना बौद्ध बहाःबहीहरूमा पुग्दा आफूमा आध्यात्मिक भावना उत्पन्न भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘म आफू पनि बौद्धमार्गी भएकोले होला, ती बहालहरूमा पुग्दा मलाई अत्यन्तै आत्मिक महसुस भयो ।’ काठमाडौँ महानगरपालिका मेयर शाक्यले विदेशी पाहुनलाई बोलाएर नेपालको संस्कृति, संम्पदा र परम्पराका बारेमा जे छ त्यहि जानकारी गराएको बताउनुभयो ।
‘पाहुनालाई बोलाएपछि रातारात विग्रिएका सम्पदालाई लिपपोत गर्ने र टालटुल गरेर देखाउने चलन छ,’ मेयर शाक्यले भन्नुभयो, ‘हामीले यो पटक विदेशी पाहुनालाई भित्री शहरका धेरै ठाउँ घुमाएर त्यहाँको जिवन्ताका बारेमा जानकारी दियौँ । पुर्न्निर्माण हुँदै गरेका सम्पदा र परम्परागत सस्कृतिका बारेमा पनि हामीले प्रत्यक्ष जानकारी दियौँ ।त्यति मात्र होइन नेपालमा शान्ति छ । नेपाल घुम्न आउँदा कुनै पनि समस्या छैन भन्ने सन्देश उहाँहरुलाई दिन सफल भयौँ ।’
उहाँले विदेशी पाहुनलाई नेपाल बोलाउनुको अर्को कारण पर्यटन वर्ष सफल बनाउन पनि रहेको बताउनुभयो । ‘हामीले विदेशी पाहुनालाई यहाँ बोलाउनुको प्रमुख उदेश्य भनेको यहाँको पर्यटन क्षेत्रलाई उद्योगका रुपमा विकास गराउनु हो,’ उहाँले भन्नुभयो, ‘त्योसँगै इन्द्रजात्रालाई हामीले विश्वसामू चिनाउनका लागि पनि यसरी विदेशी पाहुनालाई बोलाएका हौँ ।’
उहाँले काठमाडौँमा हेर्न लाएकका सम्पदा धेरै छन् भन्ने सन्देश दिनका लागि पनि विदेशी पाहुनालाई बोलाएको जानकारी दिनुभयो । इन्द्रजात्रा अवलोकनका लागि आउनुभएका पाहुना सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्