काठमाडौं, २५ जेठ । नेपालको ठुलो विद्यार्थी संगठन अनेरास्वविुको २४ औँ केन्द्रीय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ ।
महाधिवेशन सुरु भएसँगै नेतृत्वको चर्चा पनि त्यतिकै चलेको छ । नेकपा एमालेको ठुलो र शक्तिशाली जनसंगठनको रूपमा रहेको अनेरास्ववियुको अध्यक्ष बन्नको लागि अहिले सचिवमा रहेका नेताहरूको प्रबल दावेदारी रहेको छ । पार्टीले ३२ वर्षे उमेर हदको मार्गदर्शन तयार गरेको कारण धेरै विद्यार्थी नेताहरू यो महाधिवेशन पछि अनेरास्ववियुको राजनीतिबाट बाहिरिँदै छन् ।
यो महाधिवेशनमा अध्यक्ष पदको लागि चार जनाको प्रबल दावेदारी रहेको छ । डा. सुजन कडरिया, प्रकाश पौडेल, अञ्जना सिवाकोटी र दीपक धामीले अध्यक्षमा दाबी गर्नुभएको छ । उहाँहरूलाई राखेर सर्वसम्मत नेतृत्वको लागि छलफल भइरहेको नेकपा एमाले संगठन विभाग सचिव तथा अनेरास्ववियुका पूर्वअध्यक्ष समेत रहनुभएका माधव ढुङ्गेलले बताउनुभयो । महाधिवेशनको अध्यक्ष मण्डलका सदस्य समेत रहनुभएका ढुङ्गेलले सर्वसम्मत नेतृत्व चयन गर्ने कुरामा विद्यार्थी नेताहरू समेत सकारात्मक रहनुभएको जानकारी दिनुभयो । ‘ नेतृत्वमा हामीले सर्वसम्मतिको सम्भावना देखेका छौँ, त्यसैले प्रयास गरिरहेका छौँ’,उहाँले भन्नुभयो ।
अहिले मनोनयन दर्ता नभइसकेकोले अनौपचारिक छलफल भइरहेको बताउँदै उहाँले मतदान हुने अन्तिम क्षणसम्म पनि स्वसहमतिको लागि छलफल चलाइने बताउनुभयो । ‘उहाँहरू सबै जना अहिलेको कमिटीका सचिव हुनुहुन्छ, उहाँहरूले विद्यार्थी राजनीति राम्रोसँग बुझ्नु भएको छ, सर्वसम्मत नेतृत्व चयनको महत्त्व पनि बुझ्नु भएको छ, हामीले उहाँहरूलाई राखेर एक चरण कुरा पनि गरेका छौँ, सहमतिको प्रयास भोलिसम्म पनि जारी रहन्छ’, उहाँले भन्नुभयो ।
सहमति भएन भने मतदान प्रक्रियामा जाने बाटो खुल्ला रहेको उहाँले बताउनुभयो । ‘सहमतिको प्रयास हुन्छ, सहमतिबाट नेतृत्व चयन भएन भने पनि खुल्ला प्रतिस्पर्धामा जानु पर्छ, प्रतिष्पर्धा गर्नै हुँदैन भन्ने होइन, तर त्यो प्यानल बनाएर भने हुँदैन, व्यक्तिगत प्रतिष्पर्धाबाट नेतृत्व चयन हुनुपर्दछ’, उहाँले भन्नुभयो ।
नेतृत्वमा सर्वसम्मति भए पनि महाधिवेशनले निर्वाचन प्रक्रियाबाट नै नेतृत्व चयन गर्ने उहाँले स्पष्ट पार्नुभयो । ‘पहिला २ सय ९९ कमिटी हुन्थ्यो, अहिले १ सय ५१ जनाको कमिटीमा झार्नु पर्ने छ, त्यसमा नयाँ अनुहार पनि ल्याउनु पर्ने छ, सबै क्षेत्रलाई समेट्नु पर्ने छ, त्यसैले पनि यसलाई इलेक्सनबाट नै टुङ्ग्याउनु पर्ने छ, १ सय ५१ को कमिटी, ११ जना पदाधिकारी र ३२ वर्षको उमेर हद भित्र राखेर सबै काम सक्नु पर्ने छ, भरसक नेतृत्व सहमतिमा टुङ्गियो भने सकारात्मक सन्देश जान्छ’, उहाँले भन्नुभयो ।
यो महाधिवेशनले नयाँ सन्देश दिने उहाँले बताउनुभयो । पछिल्लो पुस्ताका विद्यार्थीलाई नेतृत्वमा ल्याउन उमेर समूह निर्धारण गरिएकोले पनि यो महाधिवेशनले नयाँ सन्देश दिने उहाँले दाबी गर्नुभयो । ‘नयाँ नेतृत्व, नयाँपन र नयाँ सन्देश दिने कुरामा यो महाधिवेशन सफल हुने छ’, उहाँले भन्नुभयो ।
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद पार्टीको हस्तक्षेप नभई मार्गदर्शन भएको पनि उहाँले बताउनुभयो । राजनीतिमा नयाँ पुस्ताको प्रवेशको लागि यो व्यवस्था गरिएको उहाँले दाबी गर्नुभयो । ‘यो व्यवस्थाले अखिलमा पनि नयाँ नेतृत्व आउँछ, अखिलबाट निस्किएको नेतृत्वबाट पार्टीमा पनि नयाँ नेतृत्व प्रवेश गर्छ, यसले अनेरास्ववियु र पार्टी दुवै ठाउँमा नयाँ नेतृत्व स्थापित गर्छ’, ढुङ्गेलले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्