काठमाडौं, १५ मंसिर । भूकम्पका कारण घरबास गुमाएपछि त्रिपालमा बस्दै आएका भूकम्पपीडितले चिसोका कारण धमाधम ज्यान गुमाउन थालेका छन् । वडा कार्यालयहरूका अनुसार बिहीबारसम्म चिसोले मृत्यु हुनेको संख्या २२ पुगेको छ । जसमा जाजरकोटमा १९ र रुकुम पश्चिममा ३ जनाको ज्यान गएको हो ।
मृत्यु हुनेहरूमा धेरैजसो दीर्घरोगी छन् । ‘सामान्य अवस्थामै पनि दीर्घरोगीको स्वास्थ्य कमजोर हुन्छ, केहीले त भूकम्पपछि नियमित औषधि नै सेवन गर्न पाएका थिएनन्,’ जिल्ला अस्पतालकी प्रमुख डा. प्रतीक्षा भारतीले भन्नुभयो , ‘एक त रोग प्रतिरोधी क्षमता कमजोर, त्यसमा पनि अत्यधिक चिसोको बसाइ, जसलाई उनीहरूको शरीरले पचाउन सकेन ।’ दुई बालबालिकाले पनि समयमै उपचार नपाउँदा ज्यान गुमाएको उहाँले बताउनुभयो । अत्यधिक चिसोका कारण दीर्घरोगीले थप स्याहार पाउन नसक्दा ज्यान गुमाइरहेको नलगाड नगर अस्पतालका डा. विशाल उप्रेती बताउँछन् । उनका अनुसार भूकम्पका कारण सबैभन्दा बढी क्षति बेहोरेको नलगाडमा झन्डै एक हजार दीर्घरोगी छन् ।
‘अधिक चिसोले झाडापखाला, ज्वरो र रुघाका बिरामी बढेका छन्, मुटु रोगी, दमका बिरामी, उच्च रक्तचाप र मधुमेहका बिरामीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ,’ उहाँले भन्नुभयो, ‘अस्पतालमा आएकालाई हामीले औषधि दिएर त पठाइरहेका छौं तर अस्थायी टहरा नबन्दासम्म उनीहरू सबैको ज्यान जोखिममै छ ।’ अस्पतालमा दैनिक १ सयदेखि १ सय ५० जनासम्म बिरामी उपचारका लागि आइरहेका छन् । नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतका अनुसार पर्याप्त टहरा बन्न नसक्दा भूकम्पपीडितलाई चिसोबाट बचाउन मुस्किल भएको छ । ‘अहिलेसम्म एउटा परिवारका लागि १÷१ थान त्रिपाल र कम्बल मात्र दिन सकेका छौं, त्यसैको भरमा ५र७ जनाको परिवार बस्नुपरेको छ,’ उहाले भन्नुभयो ले भने, ‘रातभरि चुहिने शीत र सिरेटो थेग्न नसक्दा स्वास्थ्य समस्या बढिरहेको छ, अहिले त बिरामी नभएका त्रिपाल र परिवार एउटै छैनन् ।’
एकसरो त्रिपाल र लत्ताकपडाको भरमा कष्टकर जीवनयापन गर्दै आएका भूकम्पपीडितले धमाधम ज्यान गुमाउन थालेका छन् । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५६ जनाको मृत्यु भएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा झन्डै ५५ हजार परिवार विस्थापित भएका छन् । जसमध्ये झन्डै १ हजार परिवारका लागि स्वयंसेवी, संघसंस्था र राजनीतिक दलले अस्थायी टहरा निर्माण गरेका छन् भने बाँकी परिवार त्रिपालमुनि नै छन् ।
प्रतिक्रिया दिनुहोस्