जनता टाइम्स

२० मंसिर २०८०, बुधबार १८:४७

समृद्धिका लागि संकल्प यात्राबारे प्रेस चौतारीले गर्यो लेखनवृत्ति प्रतियोगिता घोषणा


काठमाडौं, मंसिर २० । नेपाली श्रमजीव तथा ब्यावसायिक पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले लेखनवृत्ति प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रेस चौतारी नेपालको मङ्सिर १२ र १३ गते दार्चुलामा सम्पन्न केन्द्रीय समितिको तेस्रो बैठकले समृद्धिका लागि संकल्प यात्राको विषयमा लेखन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । नेकपा एमालेले सञ्चालन गरिरहेको मध्य पहाडी पुष्पलाल लोकमार्ग झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको सन्दर्भसँग जोडेर संगठनले फिचर लेखन प्रतियोगिता गर्न लागेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

संकल्प यात्रा अभियानको विशेष अवसरमा प्रेस चौतारी नेपालले स्मारिका प्रकाशन गर्ने भएको छ । स्मारिकामा प्रकाशित गर्ने गरी लेखनवृत्ति प्रतियोगिता गर्न लागिएको संगठनले जनाएको छ । प्रतिस्पर्धामा जो सुकै सञ्चारकर्मीले भाग लिन पाउने छन।

तीन सदस्यीय निर्णायकबाट लेखनवृत्तिका रचना तथा स्टोरी र फिचर छनौट गरी विजेता घोषणा गरिने भएको छ । आगामी माघ २२ गते प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसर पारेर नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट समृद्धिका लागि संकल्प यात्रा स्मारिका सार्वजनिक गर्ने कार्यक्रममा विजेता घोषणा गरी पुरस्कार वितरण गरिने छ ।

मध्य पहाडी पुष्पलाल लोकमार्गको वस्तुस्थिति र अवस्था, जनजीवनमा पारेको प्रभाव, पुष्पलाल लोकमार्ग र नेकपा एमालेको सम्बन्ध, नेकपा एमालेको झुलाघाट– चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उद्देश्य, उपलब्धि र अभियानको सविस्तार, लोकमार्गले स्थापित गरेको १० नयाँ सहरहरूको वस्तुस्थिति र सम्भाव्यता, पहाडी जिल्लाबाट भइरहेको बढ्दो बसाई सराई र त्यसले पार्ने प्रभावलगायतका विषयमा रहेर खोज तथा अध्ययनमूलक र तथ्याङ्कगत लेख रचना, स्टोरी र फिचरहरू पौष १७ गतेसम्म लेखकको स्पष्ट परिचय र सम्पर्कसहित प्रेस चौतारी नेपालमा पठाउनु पर्ने सर्त रहेको छ ।

लेखनवृत्ति प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ३० हजार, २०हजार र १५ हजार रुपैँया नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । सान्त्वना स्वरूप १० जना विजेता छनौट गरी नगद तीन हजार र प्रमाणपत्र प्रदान गरिनेछ ।

लेख रचना, स्टोरी र फिचर कम्तीमा २ हजार र बढीमा ५ हजार शब्दको हुनुपर्ने आयोजकले जनाएको छ । त्यस्तो रचना कुनै पनि सञ्चार माध्यम वा कहीँ कतै प्रकाशित नभएको हुनुपर्नेछ । छनौट भएका स्टोरी, फिचर तथा लेखहरूको सर्वाधिकार प्रेस चौतारी नेपालमा हुनेछ । प्रतियोगितामा मध्य पहाडी पुष्पलाल लोकमार्ग अन्तर्गतका जिल्लाका पत्रकारलाई प्राथमिकतामा राखिनेछ ।

लेखनवृत्ति प्रतियोगिताको लागि केन्द्रीय सदस्य समीर बलामीको संयोजकत्वमा केन्द्रीय सदस्यहरू नरेश भण्डारी, रामचन्द्र प्रजापति, सजिव कालाखेती र अमिर लामा रहेको पाँच सदस्यीय समिति गठन गरिएको छ । प्रतियोगिताको लागि डा. रघु मैनालीको संयोजकत्वमा देवराज अर्याल र निर्मला शर्मा रहेको तीन सदस्यीय निर्णायक समिति गठन गरिएको छ ।