जनता टाइम्स

८ फाल्गुन २०८०, मंगलवार १९:४३

नाभाल्नीकी विधवाको आरोप ‘निराधार र अभद्र’ रहेको क्रेमलिनको भनाइ


मस्को, ८ फागुन । गत साता कारागारमा मृत्यु भएका विपक्षी नेता एलेक्सी नाभाल्नीकी विधवाले लगाउनुभएको आरोपहरूलाई क्रेमलिनले आज अस्वीकार गरेको छ । विधवाले नाभाल्नीको मृत्युको पछाडि राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको आरोप लगाउनुभएको थियो । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भन्नुभयो,‘निस्सन्देह यो रुसी राज्यका प्रमुखविरुद्ध बिल्कुल निराधार र अभद्र आरोप हो, तर युलिया नाभाल्नी केही दिनअघि मात्र विधवा हुनुभएकाले म कुनै टिप्पणी गर्दिनँ ।’

लाखौँ मानिसले अनलाइनमा हेरेको एक भिडियो सन्देशमा ४७ वर्षीया विधवा नाभाल्नीले ‘हाम्रो मुलुकको स्वतन्त्रताका लागि’ आफ्ना पतिको लडाइँलाई जारी राख्ने वाचा गर्नुभएको छ । पेसकोभले सोमबार युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले नाभाल्नीसँग ब्रसेल्समा आयोजना गर्नुभएको वार्तापछि विपक्षी नेता नाभाल्नीको मृत्युको ‘अन्तर्राष्ट्रिय जाँच’ का लागि गर्नुभएको इयुको आह्वानलाई पनि अस्वीकार गर्नुभयो ।

‘हामी सामान्यतया यस्ता मागलाई स्वीकार गर्दैनौँ– खासगरी बोरेलको तर्फबाट भएको मागका सम्बन्धमा’, उहाँले भन्नुभयो । हालैका दिनमा नाभाल्नीको मृत्युको शोक मनाउने कार्यक्रमहरूमा सयौँ रुसीलाई हिरासतमा लिएको बारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो,‘कानून प्रवर्तन एजेन्सीहरूले कानूनअनुसार काम गरिरहेका छन् ।’

नाभाल्नीको मृत्युको केही दिनपछि सोमाबार सङ्घीय दण्डात्मक सेवामा रहेका चार शीर्ष अधिकारीलाई सैन्य आदेशका साथ सुशोभन गर्ने पुटिनको निर्णय ‘आफ्नो मार्गमा चल्ने पदोन्नति प्रक्रिया’ को एउटा हिस्सा भएको पनि उहाँले बताउनुभयो । सन् २०२१ मा कारागार जानुअघि नाभाल्नीले पुटिनविरुद्ध ठूलो स्तरमा विरोध प्रदर्शन गर्नुभएको थियो । साइबेरियामा सोभियत युगको नर्भ (स्नायु) एजेन्टले विष दिएपछि उहाँ जर्मनीमा उपचार गरी रुस फर्किनुभएको थियो ।