जनता टाइम्स

२५ असार २०८२, बुधबार २०:४१

रामेछाप ‘पूर्ण खोप दिगोपना सुनिश्चितता भएकाे जिल्ला, वाग्मती प्रदेश स्वास्थ्य मन्त्रीद्वारा औपचारिक घोषणा


रामेछाप, २५ असार । खोप सेवा प्रवाहमा निरन्तरता, प्रभावकारिता र पूर्ण पहुँच कायम गर्न सफल भएसँगै रामेछाप जिल्ला ‘पूर्ण खोप दिगोपना सुनिश्चितता भएको जिल्ला’ बनेकाे छ ।

वाग्मती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले बुधबार रामेछापलाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गर्नुभयो। जनस्वास्थ्य कार्यालय रामेछापको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा मन्त्री थापाले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो।

उहाँले भक्तपुर र हेटौँडा अस्पतालमा विशेषज्ञ चिकित्सकसहित टेलिमेडिसिन सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिँदै प्रदेशका अन्य जिल्लालाई समेत ती दुई अस्पतालमार्फत टेलिमेडिसिन सेवा प्रदान गरिने योजना रहेको उल्लेख गर्नुभयो।

स्वास्थ्य मन्त्री थापाले आगामी आर्थिक वर्षदेखि पत्रकारहरूको स्वास्थ्य बिमा खर्च समेत मन्त्रालयले व्यहोर्ने घोषणा गर्नुभयो। उहाँले अनुसार, सञ्चारकर्मीहरू समाजको सूचना प्रणालीका महत्त्वपूर्ण अङ्ग भएकाले उनीहरूको स्वास्थ्य सुरक्षामा राज्यको जिम्मेवारी हुन्छ।

जिल्ला समन्वय समिति रामेछापकी प्रमुख तथा जिल्ला पूर्ण खोप समन्वय समिति संयोजक चिना खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ, रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपाने, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी, नागरिक समाजका अगुवा र पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा वक्ताहरूले रामेछापले प्राप्त गरेको उपलब्धिलाई दीगो बनाउँदै लैजानु जरुरी रहेको भन्दै सबै सरोकारवाला निकायहरूबिच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिए।

जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झाका अनुसार, जिल्लाका सबै आठवटा स्थानीय तहमा १६–२३ महिनासम्मका बालबालिकाले आवश्यक सबै खोप प्राप्त गरिसकेका छन्। साथै, १५ महिनासम्म दिइने सम्पूर्ण खोपको मात्रा सुनिश्चित भएको प्रमाणित भएपछि रामेछापले यो उपाधि पाएको हो।

यसअघि जिल्ला पूर्ण खोप समन्वय समितिले जेठ महिनाभित्रै उपाधि घोषणा गर्ने निर्णय गरेको भए पनि व्यवस्थापकीय कारणले झन्डै एक महिनापछि औपचारिक घोषणा गरिएको हो।

स्वास्थ्य कार्यालयका अनुसार, यो उपलब्धि हासिल गर्न महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता, स्थानीय तहहरूको लगाव, नियमित खोप सत्रको सञ्चालन, सेवा अभिलेखको अभिवृद्धि र निगरानी प्रणालीको प्रभावकारी कार्यान्वयनले भूमिका खेलेको हो।

स्वास्थ्य मन्त्रालय तथा युनिसेफ लगायतका संस्थाहरूले रामेछापको अभ्यासलाई अन्य जिल्लाहरूका लागि अनुकरणीय मापदण्डका रूपमा प्रस्तुत गर्न सकिने बताएका छन्।

रामेछापले प्राप्त गरेको यो उपाधि खोप सेवामार्फत मातृ शिशु स्वास्थ्य सुधारतर्फको यात्रामा एक महत्त्वपूर्ण मीलका पत्थर बनेको सरोकारवालाहरूको धारणा छ।