काठमाडौं, २६ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले नेतृत्व चयनको विषयमा बहस आवश्यक नरहेको बताउनुभएकाे छ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी हाल विधान महाधिवेशनको तयारीमा रहेको र त्यसअनुरूप विधि तथा विधानकै सन्दर्भमा केन्द्रित रहनुपर्ने बताउनुभयाे। ‘अहिले विधि र विधानको कुरा गर्ने समय हो, विधि र विधानभन्दा बाहिर गएर छलफल गर्न आवश्यक छैन, जतिबेला नेतृत्व चयनको विषय आउँछ, त्यतिबेला त्यस विषयमा प्रवेश गर्नुपर्दछ’, पाेखरेलले भन्नुभयाे ।
पार्टीभित्रको नेतृत्वबारे उठ्न थालेको आन्तरिक बहसप्रति लक्षित गर्दै पोखरेलले नेतृत्व बहसको बेला नभएको र अहिलेको प्राथमिकता संगठन र सिद्धान्तको बहस तर्फ केन्द्रित हुनुपर्ने धारणा दोहोर्याउनुभयाे। हालै विभिन्न तहमा भएको सांगठनिक समीक्षा, निर्वाचन मूल्याङ्कन र भातृ संगठनको पुनर्गठनको सन्दर्भमा नेतृत्वका विषय पनि उठिरहँदा महासचिव पोखरेलले ती विषयलाई असान्दर्भिक बनाउने प्रयास गर्नुभएकाे छ ।
उहाँले वर्तमान समयमा पार्टीको वैचारिक स्पष्टता कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयाे। उहाँले सामाजिक सञ्जालमा बढ्दो निर्भरता, संगठनभित्र विचारमाथि भन्दा पनि भावनात्मक प्रतिक्रियाको प्रभाव बढेकोप्रति आलोचना गर्नुभयाे। ‘पार्टीको नीति नियम, दस्तावेजले होइन, मोबाइलले हामीलाई दिशानिर्देश गरेको छ’ पोखरेलले भन्नुभयाे।
महासचिव पोखरेलले आगामी निर्वाचनलाई केन्द्रमा राखेर ‘मिशन २०८४’ अन्तर्गत पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभयाे। ‘हामी सबै मिलेर मिशन २०८४ लाई सफल बनाउनेतर्फ लाग्नुपर्छ’, उहाँले भन्नुभयाे।
पार्टीमा आन्तरिक प्रतिस्पर्धा बहस सुरु भए पनि महासचिव पोखरेलले वर्तमान प्राथमिकता विधान र प्रक्रिया नै भएको दोहोर्याउनुभयाे। उहाँले नेतृत्व ठोस बहस विधान महाधिवेशनमार्फत गर्ने अवसर आउने उल्लेख गर्नुभयाे ।
बैठकमा उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेम पराजुलीले महाधिवेशनलाई ध्यानमा राखेर कार्यगत कार्यक्रमहरू अगाडि बढाइएको जानकारी दिनुभयाे। विधान संशोधन, सांगठनिक संरचना, नीति दस्तावेज र कार्यदिशामा सुझाव सङ्कलनको काम अघि बढाइएको बैठकमा जानकारी गराइएको थियो।
प्रतिक्रिया दिनुहोस्