काठमाडौं, फागुन १६ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीविरुद्ध आक्रामक बन्नुभएको छ । मेयर साम्पाङले मन्त्री किरातीलाई फटाह र बदमासको पर्यायवाची रहेको भन्दै कुलको नाम लिएर धिक्कार्ने कामसमेत गर्नुभएको छ ।
धरानमा एयरपोर्ट बन्न नसक्ने निष्कर्ष सार्वजनिक भएपछि मेयर साम्पाङ मन्त्री किराँतीबिरुद्ध लगातार सामाजिक सञ्जालमा उत्रनुभएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरान उपमहानर क्षेत्रमा विमानस्थल निर्माण गर्दा विद्यामान हवाई नीति विपरीत हुने निष्कर्ष निकालेको छ । सोही बिषय सार्वजनिक भएपछि मेयर आक्रोशित बनेका हुन ।
धरानमा विमानस्थल बनाउँदा हवाई यातायातको दीर्घकालीन, नियमित र व्याबसायिक सम्भावना नभएको भन्दै फागुन १५ गते प्राधिकरणले विज्ञप्ति जारी गरेपछि मेयर साम्पाङले मन्त्री किराँतीलाई तल्लो स्तरको गाली गर्नुभएको हो । मेयर साम्पाङले किराँतीलाई कुलले धिक्कार्नेसम्म भन्नुभएको छ ।
मेयर साम्पाङले मन्त्री किराँतीलाई कुचीकारको संज्ञा दिनुभएको छ । ‘सुदन किराँती मन्त्री नै हुन् कि पोचा लाउने कुचीकार ? खोइ त प्राधिकरणलाई तह लगाको ? कुलको बदनामी । साम्पाङले अर्को स्टाटसमा लेखेका छन, कुलले धिक्कार्ने काम,’ मेयर साम्पाङले लेख्नुभएको छ ।
यस्तै उहाँले मन्त्री किराँतीले राज्यको ढुकुटी सकेको र कुलको बदनाम गरेको भन्दै फटाहको संज्ञा दिनुभएको छ । ‘केही गर्छ कि भनेको ताइँ न तुइँको गफबाहेक अरू केही गरेन । मन्त्री भएपछि मन्त्री जस्तो काम गरे पो यस भन्नु ? राज्यको ढुकुटीको सत्यानाश मात्रै,’ किराँतीबिरुद्ध मेयर साम्पाङले लेख्नुभएको छ ।
नागरिक उड्डयन प्राधिकरणको विस्तृत अध्ययन प्रतिवेदनले धरानमा विमानस्थल बनाउन फेल्कजीवल नभएको निष्कर्ष निकालेपछि उहाँ मन्त्रीबिरुद्ध आक्रामक बन्नुभएको हो । मेयर साम्पाङले नियमावली संशोधन गरेर भए पनि धरानमा विमानस्थल बनाउने मन्त्री किराँतलाई चेतावनी पनि दिनुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘तेरो नियम संशोधन गरेर भए पनि विमानस्थल बनाउनेछौँ । ज्यादा नखोक । संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु ।’
प्रतिक्रिया दिनुहोस्