काठमाडौं, फागुन १९ । यस वर्षको केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको छ । मछिन्द्र फुटबल क्लव (एमएफसी) ले एनआरटीलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै केपी ओली कपको उपाधि चुम्यो।
दशरथ रंगशालामा भएको फाइनल जितेर डिफेन्डिङ च्याम्पियन मछिन्द्रले उपाधिको रक्षा गरेको हो । एनआरटीका लागि विवेक गुरुङको प्रहार बाहिरिएपछि मछिन्द्रले उपाधि जित्ने निश्चित भएको हो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा गएपछि प्रतिस्पर्धा सिधै पेनाल्टी सुटआउटमा गएको थियो । त्यसमा विवेकको अन्तिम प्रहार गोल हुन सकेन । मछिन्द्रका लागि पाँचै खेलाडीले पेनाल्टीलाई गोलमा परिणत गरे । उसका लागि सनिश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन समिर विनोङ, क्रिस्टोफर र देवेन्द्र तामाङले गोल गरे ।
एनआरटीका लागि भने सरोज तामाङ, सञ्जि विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले गोल गरे । निर्धारित समयको खेल रोमाञ्चक रहे पनि दुवै टिमले निर्णायक आक्रामक भने बन्न सकेन ।
प्रतिक्रिया दिनुहोस्