एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बनेपछि देशलाई तुइनमुक्त बनाउने पहिलो निर्णयसहित संकल्प गर्नुभएको थियो । अहिले तुईन भएका ठाउँमा झोलुङ्गे पुल निर्माण भएसँगै कालिकोट तुईनमुक्त बनेको हो ।
कालिकोट, चैत ९ । कर्णालीको बिकट जिल्ला कालीकोट तुइनमुक्त जिल्लामा परिणत भएको छ । कालिकोटका नदीहरूमा बनाएका तुइन हटाएर झोलुङ्गे पुल निर्माण भएपछि कालिकोट तुइनमुक्त भएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बनेपछिको पहिलो निर्णय नै देशलाई तुइनमुक्त बनाउने संकल्प गर्नुभएको थियो । अन्य ठाउँका तुइन हटे पनि कालीकोटमा भने केही तुइन बाँकी नै थिए । अहिले ती तुईन पनि झोलुङ्गे पुलमा परिणत भएर तुईनमुक्त जिल्ला भएको हो ।
दश बर्षे द्वन्द्वका क्रममा भएका पुलसमेत काटेका कारणले कालीकोटका धेरै ठाउँमा बाबियाको डोरीको सहयोगमा तुइन बनाइएको थियो । २०५७ मङ्सिर १३ गते राती इलाका प्रहरी कार्यालय कोटवाडा आक्रमण गर्ने क्रममा सदरमुकाम मान्मबाट थप सेना र प्रहरी गाउँ आउन नसकोस् भनेर माओवादीले रसायन प्रयोग गरेर रेगिंल, लालीघाट, भात्तडीसहितका कर्णाली नदीमाथिका झोलुङ्गे पुल काटेका थिए । पुल काटिएपछि स्थानीयले माओवादीको अनुमतिमा बाबियाको डोरीको तुइन बनाएर नदी वारपारको जोहो गरे ।
तुइन तर्ने क्रममा स्थानीय प्रभजित रोकाया सहित पाँच जना कर्णाली नदीमा बेपत्ता भएका थिए । माओवादीले सदरमुकाम मान्मबाट गस्तीमा आउने सेनाले दुःख दिएको जनाउँदै तिला नदीमाथिका राराघाट, सेरिघाट र लासीको पुल पनि काटेका थिए । पुल काटिएपछि सशस्त्र द्वन्द्वको बेला कर्णाली र तिला नदी वारपार गर्ने तुइन एक मात्र साधन बने । नदी तर्न बाबियाको डोरीमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भए पनि शान्ति प्रक्रिया सुरु भएपछि केही ठाउँमा सुधारिएको तुइन निर्माण भए भने केही ठाउँमा उस्तै जोखिम थियो ।
बाबियाको डोरी चुँडिँदा कर्णाली नदीको भात्तडी, रेगिंल, लालीघाट, तिलानदीको कालापहारामा बनाइएका तुइनबाट खसेर १२ जनाले ज्यान गुमाएका थिए । कर्णाली नदीको खुलालु सुधारिएको तुइनबाट खसेर पनि एक जना बेपत्ता भएका थिए ।
सशस्त्र द्वन्द्वको अन्त्यसँगै पुल बनाउन थालिए पनि उपभोक्ता र ठेकेदारको ढिलासुस्तीले झन्डै डेढ दशक कालिकोटवासीले तुइन युग झेल्नु पर्यो । कालीकोटमा शान्ति प्रक्रिया सुरु भएपछि मात्र ६८ वटा पुल बनेको छ । कालीकोटमा हालसम्म ७८ वटा पुल निर्माण भइसकेका छन् भने १८ वटा पुल निर्माणाधीन अवस्थामा छन । आगामी वर्षका लागि १२ वटा पुल प्रस्तावित छन ।
कर्णाली प्रदेशका १० वटै जिल्लामा सन् १९९० देखि २००८ सम्म १ सय वटा मात्र झोलुङ्गे पुल बनेकोमा सन् २००६ को शान्ति प्रक्रियापछि ७ सय ५९ वटा झोलुङ्गे पुल बनेको तथ्याङ्क छ । यस वर्ष मात्र कर्णालीभर १ सय ८२ वटा पुल बन्दै छन् ।
कर्णालीको भूगोल, दुरी, पुलको लम्बाई अनुसार झोलुङ्गे पुल बनाउन २० लाख देखि १ करोड सम्म लागत लाग्ने गरेको छ । डोल्पामा ढुवानी महँगो पर्ने भएकाले प्रति पुल १ करोडमा सम्पन्न भए पनि कालीकोटमा ४० लाखदेखि ७५ लाख रुपैयाँमा झोलुङ्गे पुल निर्माणको लागत हुने गरेको छ ।
खाडाचक्र नगरपालिकाका जुनियर इन्जिनियर कम्मर बहादुर बमले ओली नेतृत्वको सरकारको पालामा देशभरका तुइन विस्थापन गर्ने कार्य योजनासहित काम सुरु गरिएपछि कालीकोटमा धेरै पुल निर्माण भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब कालिकोट तुइनमुक्त भयो ।’
जिल्ला प्रविधिक कार्यालय मान्ममा ६ वर्ष काम गर्नु भएका बमले नदी र ठूला खोलामा कतै तुइन नभएको सुनाउनुभयो । कालीकोटका नदी र खोलामा पुल बनाउन ०६४ यता मात्र ४० करोड भन्दा बढी रकम खर्च भएको छ ।
प्रतिक्रिया दिनुहोस्