काठमाडौं, असोज १० । नेपालगन्जबाट दैलेख लैजानेक्रममा २४ गाईगोरु मारिएको घटनामा लापरबाही गरेको भन्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ), नगरपालिकाका मेयर र कार्यकारी अधिकृतमाथि कारबाही गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले सो घटना नियोजित हत्या नभई लापरबाहीको उपज भएको भन्दै कार्वाहीको सिफारिश गरेको हो ।
गृहका उपसचिव सागरमणि पाठक नेतृत्वको छानबिन समितिले बुधबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा नगर प्रहरीदेखि मेयरसम्मको लापरबाहीका कारण सो घटना भएको निश्कर्ष निकालिएको छ । लापरबाही गर्ने बाँकेका तत्कालीन सिडिओ मदन भुजेल, नगरपालिकाका कार्यकारी अधिकृत हरि प्याकुरेल तथा मेयर धवलशमशेर राणामाथिसमेत विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको हो ।
सुरक्षित रूपमा गाईगोरु ओसार्नका लागि सतर्कता नअपनाएको भन्दै समितिले उनीहरूलाई कारबाही गर्नुपर्ने सिफारिस गरेको बताएको छ । नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई गाईगोरु ओसार्न पत्राचार गरेको थियो । तर, कुनै अध्ययन नै नगरी सिडिओ भुजेलले अनुमति दिएको प्रतिवेदनमा जनाइएको छ । समितिले कमजोर व्यवस्थापकीय क्षमताका कारण सो घटना भएको ठहर गरेको छ । बाँकेका तत्कालीन सिडिओ भुजेल हाल मोरङमा कार्यरत हुनुहुन्छ ।
नेपालगञ्ज नगरपालिकाले बेवारिसे गाईगोरु राख्दै आएको कान्जी हाउसबाट दैलेखको जंगलमा लैजानेक्रममा शंकास्पद ढंगले गाईगोरुको मृत्यु भएको थियो । नियोजित रूपमा हत्या गरिएको आशंका गरिएपछि गृहले छानबिन समिति बनाएको थियो । नगरपालिकाले कान्जी हाउसमा धेरै गाईगोरु भएपछि ठेकेदारमार्फत दैलेख लैजाने जिम्मा दिएको थियो । ठेकेदारले एउटै ट्रकमा अत्यधिक गाईगोरु राखेपछि ट्रकभित्रै किचिएर मृत्यु हुनुका साथै कतिपय घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्