जनता टाइम्स

२४ जेष्ठ २०८२, शनिबार १५:३६

भ्रष्टाचारजन्य काम भएको छैन, जनता र अदालतले न्याय गर्ने विश्वास छ : माधव नेपाल


काठमाडौं, २४ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू माथि सरकारले पूर्वाग्रहपूर्ण व्यवहार गरेको बताउनुभएको छ ।

एकीकृत समाजवादी मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनमा बोल्दै  उहाँले पूर्वाग्रह राखेर आफूमाथि भ्रष्टाचारको मुद्दा लगाउने प्रयास भइरहेको बताउनुभयो ।

आफ्नो पार्टीको नेपालको राजनीतिमा राम्रो भूमिका रहेको देखेर आफू माथि पूर्वाग्रहपूर्ण व्यवहार गरिएको नेपालले गुनासो गर्नुभयो । ‘हाम्रो पार्टीको भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका पनि छन्, आतङ्कित पनि भएका छन्, पूर्वाग्रह राखेर बसेका छन्, बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ, त्यसैको एउटा उदाहरण भर्खरै तपाईँहरूले सुन्नुभयो ममाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भएको छ’, उहाँले भन्नुभयो ।

भ्रष्टाचारको मुद्दामा निर्णायक  आधार चाहिने उहाँले बताउनुभयो । ‘माधव नेपालले कसैसँग एक नयाँ पैसा घुस लिएको भए, एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु’, उहाँले भन्नुभयो ।

उहाँले आफेले देश र जनतालाई घात हुने कुनै अनुचित काम नगरेको दबी गर्नुभयो । ‘नबिराउनु, नडराउनु, आफ्नो स्वार्थको लागि कुनै काम भएको छैन भने आत्तिनुपर्ने छैन, गलत आरोपका विरुद्ध दृढतासाथ उभिन्छौँ, मलाई विश्वास छ न्यायपालिकाले  न्याय दिनेछ, हामीले न्यायालयलाई विश्वास गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

अहिले आफू माथि चुनौती आइलागेको बताउँदै नेपालले चुनौतीसँग नभाग्ने बताउनुभयो । त्यसको सामना गरेर आफू अघि बढ्ने नेपालले सुनाउनुभयो । ‘मबाट कुनै पनि भ्रष्टाचारजन्य काम भएको छैन, नेपाली जनताले न्याय गर्ने छन्, अदालतले न्याय गर्ने छ, मलाई विश्वास छ’, उहाँले भन्नुभयो ।

आफ्नो पार्टी कानुनको शासन र लोकतन्त्रलाई बलियो बनाउन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । समानता, न्याय, समृद्धि सुशासनलाई महत्त्व दिएर आफ्नो पार्टी अगाडि बढ्दै आएको नेपालले बताउनुभयो । आफ्नो पार्टी कसै प्रति आग्रह पूर्वाग्रह नराख्ने उहाँले बताउनुभयो । विचार र मन नमिल्दैमा कसैसँग आफूले शत्रुता नराख्ने नेपालको भनाइ छ । ‘हामी असल संस्कारको पक्षमा छौँ, असल संस्कृतिको पक्षमा छौँ’, उहाँले भन्नुभयो ।