यो उपनिर्वाचनले नेकपा एमाले एकमात्र भरपर्दो प्रमुख राष्ट्रिय शक्ति हो भन्ने देखाएको छ। एमालेले आफूलाई भरोसा योग्य पार्टीको रूपमा स्थापित गरेको छ । ०८४ मा स्पष्ट बहुमत ल्याउन सक्ने पार्टीको रूपमा एमाले मात्र देखिएको छ।
निर्मल भट्टराई
इलाम क्षेत्र नंं २ सङ्घीय निर्वाचन क्षेत्र र बझाङ १ (क) प्रदेश सभा निर्वाचन क्षेत्रमा भर्खरै सम्पन्न उप(चुनावको परिणाम एमालेको पोल्टामा परेको छ। संविधानसभाका सफल अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नं २ र सुदुरपश्चिम प्रदेशका मन्त्री तथा नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परि निधन भएपछि बझाङ १ (क) मा उपचुनाव भएको थियो । ०७९ को आम निर्वाचनमा एमालेविरोधी अप्राकृतिक गठबन्धन गरी बझाङमा एमालेलाई हराइएको थियो भने गठबन्धनको बाबजुद एमाले नेता सुवास नेम्वाङले इलाम क्षेत्र नं २ मा झिनो मतान्तरले विजय प्राप्त गर्नुभएको थियो।
एमालेविरोधी गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि भएको निर्वाचनमा एमालेले उक्त दुवै क्षेत्रमा शानदार विजय हासिल गरेको छ । इलाम क्षेत्र नं २ मा एमालेका सुहाङ नेम्वाङले फराकिलो अन्तरमा विजय हासिल गर्नु भएको छ भने बझाङमा दमन भण्डारीले कडा प्रतिस्पर्धाबीच जित निकाल्नु भएको छ। उपचुनावको यो परिणामले प्रष्ट रुपमा देहायको सन्देश दिएको छ।
एमालेप्रति जनताको अगाध भरोशा
राष्ट्रियता,लोकतन्त्र र जनजिविकाको सवालमा आफ्नो स्थापनाकालदेखि नै अब्बल रहँदै आएको एमाले सङ्घीय लोतान्त्रिक गणतन्त्रको स्थापनापछि देशको आमूल परिवर्तन र रूपान्तरणमा आफ्नो प्रष्ट दृष्टिकोण लिएर अगाडि बढिरहेको पार्टी हो । के पी शर्मा ओली पार्टीको नेतृत्वमा आएपछि अन्य अल्पकालिन र दीर्घकालिन सोचका अतिरिक्त ‘सुखी नेपाली,समृध्द नेपाल’को प्रमुख लक्ष्य लिएर एमाले जनताको माझमा राजनीति गरिरहेको छ।
सत्तामा रहँदा एमालेले जनताले युगौंसम्म नबिर्सने जनपक्षीय नीतिहरू कार्यान्वयन गरेको छ भने प्रतिपक्षमा रहँदा राष्ट्रहित र जनसरोकारका मुध्दालाई सदन र सडकमा बुलन्द गर्दै आएको छ । यसै सालमात्र अरू कसैले गर्न नसकेको लाखौं जनताका सहभागितामा मध्य पहाडी क्षेत्रमा सङ्कल्प यात्रा सम्पन्न गरेको छ ।
पहाडी क्षेत्रका जनताले भोग्नु परेका समस्याको पहिचान गरी तिनीहरूको उचित सम्बोधन गर्न एमाले दत्तचित्त भएर लागिपरेको छ । संसदीय अङ्क गणितको कारण प्रचण्डलाई प्रधानमन्त्री स्वीकारेर भए पनि जनताको पक्षमा एमाले सशक्त रूपमा काम गरिरहेको छ। एमालेले जनताको पक्षमा गरिरहेको कामको मुल्याङ्कन स्वरूप नै उप(चुनावको यो परिणाम आएको हो। नेपाली जनताले एमालेलाई निसङ्कोच माया र भरोसा गरेका छन् भन्ने दर्बिलो प्रमाण हो। मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेपालमा समाजवाद स्थापना गर्न एमालेले मात्र सामर्थ्य राख्छ भन्ने पुष्टि भएको छ।
नेपाली काङ्ग्रेसको खस्कँदो हालत
नेकपा एमालेको प्रमुख राजनीतिक प्रतिद्वन्दी नेपाली कांग्रेस उसको जनविरोधी दलाल पूँजीवादी नीतिको कारण निरन्तर अधोगतिमा छ। ०७९को आम निर्वाचनमा एमालेबाहेकका सबै पार्टीको मत लिएर सुन्निएको नेपाली कांग्रेस आफ्नो वास्तविक आकारमा झरेको छ ।
एमालेको जस्तो वैचारिक र सांगठानिक मत नभएको यो पार्टीका केही मतदातालाई पहिचानवादी वा नयाँ भनिएका दलले चोर्दा नेपाली कांग्रेस भविश्यमा अझै खुम्चने हालतमा देखिएको छ । कुनै बेला दुई तिहाइ मत पाएको र पटक–पटक बहुमत पाएको यो पार्टी अरू पार्टीको वैशाखी नटेकी अब उभिन नसक्ने हालतमा पुगेको छ ।
साना वाम पार्टीको हुर्मत
यो उपनिर्वाचनले नेकपा माओवादी केन्द्र, माधवनेपाल–झलनाथ खनाल समूहलगायतका साना वाम समूहको अस्तित्वलाई करिबकरिब अस्वीकार गरेको छ । ०७९को आम निर्वाचनमा नेपाली कांग्रेससँगको भोट लेनदेनबाट केही सिट जितेका यी पार्टी एक्लै चुनाव लड्न नसक्ने र लडिहाले जमानत जोगाउन समेत नसक्ने हालतमा पुगेका छन् । दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार गिराएर नेपाली कांग्रेसजस्तो दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिको पोल्टामा पुगेका यी समूह अहिले इतिहासकै कठिन मोडमा पुगेका छन् ।
नाङ्ले पसलरूपी वाम पार्टी कायम भए पनि कम्युनिष्ट पार्टीप्रति आस्था राख्ने नेपाली जनता आगामी दिनमा एमालेको फराकिलो छहारीमा नै गोलबन्द हुने परिस्थितिको निर्माण हुँदा यी साना वाम समूह लोपोन्मुख छन् भन्दा अत्युक्ति नहोला । साथै साना वाम समूहमा छरिएर रहेको कम्युनिष्ट क्रान्तिकारी नेता–कार्यकर्ताहरूलाई एमालेमा संगठित र सक्रिय हुन यो उपनिर्वाचनले सुस्पष्ट दिशानिर्देश गरेको छ ।
साथै एमाले र यसको भिजनरी नेतृत्वको ईर्ष्या र डाह गर्नुभन्दा एमालेको भिजनसँग एकाकार भएर अगाडि बढ्नु सबै वाम शक्ति र व्यक्तिलाई श्रेयस्कर हुन्छ। अहिले प्रचण्डको मैझारो प्रधानमन्त्रीत्व चलिरहेको छ भने माधव नेपालको प्रधानमन्त्री बन्ने घिडघिडो बाँकी नै छ । अर्को चुनावपछि त्यस्तो कुनै अवस्था बाँकी हुने छैन।
निरीह ‘नयाँ’ पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी, पूर्वका पहिचानवादी समूह र स्वतन्त्र उम्मेद्वारहरूको हुङ्कारलाई यो उप(निर्वाचनले झापड हानेको छ । सत्ता सञ्चालनमा रहेका स्थापित दलप्रति असन्तुष्ट सानो जमात समातेर राजनीति गरि रहेका यी समूहहरू चितवन, तनहुँ, काठमाण्डौ, धरानजगायतका ठाउँमा पाएको सफलताले हौसिएर ०८४मा सबैलाई एउटै खाल्डोमा पुर्ने हुङ्कार गर्दै थिए।
विभिन्न विवाद, अराजनीतिक गतिविधि, आर्थिक वेइमानीको पहाडमा चडेर नेकपा एमालेलगायतका ‘पुराना’ दललाई ‘सिध्याउने’ ऐलान गर्दै थिए। ०८४ मा एक्लै बहुमत ल्याउने गुड्डी हाँक्दै थिए। तर पहिचानवादीले इलाममा केही मत पाए पनि अरू भुईँफुट्टा दललाई जनताले पटक्कै पत्याएनन् । यो उपचुनावले स्टन्टवाजहरूको राजनीतिलाई पानीको फोका सावित गरिदिएको छ।
यो उपनिर्वाचनले नेकपा एमाले एकमात्र भरपर्दो प्रमुख राष्ट्रिय शक्ति हो भन्ने देखाएको छ। एमालेले आफूलाई भरोसा योग्य पार्टीको रूपमा स्थापित गरेको छ । ०८४ मा स्पष्ट बहुमत ल्याउन सक्ने पार्टीको रूपमा एमाले मात्र देखिएको छ।
प्रतिक्रिया दिनुहोस्