जनता टाइम्स

२० असार २०८२, शुक्रबार १४:१२

मलाई अदालत माथि विश्वास छ, न्याय र सत्यको जित हुन्छ भन्ने विश्वास छ : माधव नेपाल 


काठमाडौं, २० असार । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी र आफू माथि नचाहिने आरोप लगाएको बताउनुभएको छ ।

शुक्रबार सो पार्टी निकट विद्यार्थी संगठनको जिल्ला अधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै नेपालले आफ्नो पार्टी हिम्मत भएकाहरूको पार्टी भन्दै कातर मान्छेको पार्टीमा कुनै काम नभएको बताउनुभयो । पार्टी भित्र अन्तर्घात गर्ने तथा पार्टी र आफ्नो आलोचना गर्नेलाई तह लगाउने उहाँले चेतावनी दिनुभयो ।

आफ्नो पार्टी विद्रोह गरेर बनेको पार्टी भएको बताउँदै नेपालले फूलको आँखामा फूलकै संसार र काँढाको आँखामा काँढै संसार हुने बताउनुभयो । ‘काँढाको आँखाले हेर्ने मानिसलाई थुक्न र भोमिट गर्न मात्र आउँछ, यो मैले साङ्केतिक रूपमा मात्र भनेको हो’, उहाँले भन्नुभयो ।

आफू माथि लागेको भ्रष्टाचारको मुद्दामा अदालतले न्याय दिने नेपालले विश्वास व्यक्त गर्नुभयो । ‘मलाई अदालत माथि विश्वास छ, मलाई न्यायको जित हुन्छ भन्ने विश्वास छ, मलाई सत्यको जीत हुन्छ भन्ने कुरामा विश्वास छ’, उहाँले भन्नुभयो ।

आफूलाई चुनौती दिनेहरूलाई अपराधीको संज्ञा दिँदै उहाँले उनीहरूको पाखुरामा कति दम छ भन्ने कुरा हेर्ने बताउनुभयो । आफू कहिल्यै पनि बदलाको भावना नराख्ने, विधि पद्धति नमिच्ने, सबैलाई मिलाएर अघि बढ्ने मानिस भएको नेपालले दाबी गर्नुभयो । ‘नबिराउनु, नडराउनु, बिराएको छैन भने डराउनुको कुनै आवश्यकता छैन, यस धर्तीका एकजना मान्छेले पनि माधव नेपाल दोषी छ भन्ने तथ्य प्रमाणित गरोस् म जुनसुकै बलिदान गर्न तयार छु’, उहाँले भन्नुभयो ।

आफूले मान्छे  नचिन्दा जसलाई संरक्षण गर्‍यो, जसलाई सहयोग गर्‍यो उही आफ्ना विरुद्ध लाग्ने नेपालले गुनासो गर्नुभयो । जीवनमा यस्ता चुनौती आइरहेन बताउँदै उहाँले यी चुनौतीको सामना गर्दै अघि बढ्ने आँट गर्नुपर्नेमा जोड दिनुभयो । यस्ता चुनौती नेपालमा मात्र होइन विश्व भरी नै आउने उहाँले बताउनुभयो ।

अहिले अन्तर्राष्ट्रिय रूपमा नै कम्युनिष्ट पार्टीको जनमत राम्रो बन्दै गएको बताउँदै उहाँले यसले आफूहरूलाई उत्साहित बनाएको बताउनुभयो । यसले कम्युनिष्टहरुको राम्रो भविष्यको सङ्केत गरेको उहाँले सुनाउनुभयो ।

अहिले नेपालको मूल कम्युनिस्ट पार्टी भनिएको नेकपा एमालेमा अन्तर्विरोध बढ्दै गएको नेपालले बताउनुभयो । एमालेको भविष्य के हुने हो भन्ने कुरा सजिलै भन्न सकिने अवस्था नरहेको उहाँको भनाइ छ ।

अहिले सरकारले मुलुकलाई राम्ररी हाँक्न नसकेको तथा जनभावना बुझ्न नसकेको उहाँले आरोप लगाउनुभयो । सरकाले जनताको विश्वास जित्न नसकेको नेपालको धारणा छ । यस्तो सरकारको पतन अनिवार्य भएको बताउँदै उहाँले यसको लागि समय भने पर्खनु पर्ने बताउनुभयो ।

अहिले आफ्नो पार्टीका पक्षमा देशै भरि माहौल बनेको उहाँले बताउनुभयो । पार्टीको संगठन निर्माण र अधिवेशनहरू धमाधम भइरहेका भन्दै उहाँले यसले संगठन विस्तारमा सहयोग पुगेको सुनाउनुभयो । उहाँले युवा र विद्यार्थीका कमिटी तलसम्म बनाउन पनि आग्रह गर्नुभयो ।