मोरङ, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो,‘समस्यालाई केन्द्र्रित गरेर समिति गठन गर्नुपर्छ, व्यक्ति केन्द्रित होइन ।’ गृहमन्त्रीको नामै तोकेर समिति गठन गर्नुपर्ने प्रतिपक्षीको माग उचित नभएको उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले वर्तमान नयाँ सत्ताको राजनीतिक समीकरणले मुलुकको सङ्घीयतालाई बलियो बनाउने बताउनुभयो । विगतको गठबन्धन नीतिहीन, अस्वाभाविक रहेकाले तोड्नुपर्छ भनेर एमालेले नयाँ गठबन्धन बनाएको र यसले जनताका समस्या सम्बोधन गर्ने धारणा राख्नुभयो । पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व दिन गठबन्धन सकारात्मक रुपमा अगाडि बढिरहेको जानकारी दिनुभयो ।
उहाँले एमाले मिसन २०८४ को लक्ष्य लिई अगाडि बढिरहेको विचार व्यक्त बताउनुभयो । पोखरेलले संविधान संशोधनीय विषय भएकाले समय आएपछि सम्पूर्ण राजनीतिक दलहरुसँग छलफल गरी साझा सहमतिका आधारमा संशोधन गर्न सकिने जवाफ दिनुभयो । उहाँले सरकारले तोकिएको समयमा आगामी आर्थिक वर्षको बजेट ल्याउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्