जनता टाइम्स

२२ जेष्ठ २०८१, मंगलवार ०२:२३

मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री दाहाल, पर्यटनमन्त्री हितबहादुर तामाङलाई हटाएर रञ्जितालाई मन्त्री बनाउने


काठमाडौं, जेठ २२ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनःगठन गर्ने हुनुभएको छ । प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्ति पार्टीलाई समेटर मन्त्रिपरिषद् पुनःगठन गर्न लाग्नुभएको हो ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एक हप्ताभित्र आफू दाहाल सरकारमा मन्त्री बन्ने निश्चित भएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री दाहालले हप्ता दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जिम्मेवारी दिने प्रतिवद्धता जनाउनु भएको छ ।

प्रधानमन्त्री दाहालले माओवादीका हितबहादुर तामाङलाई फिर्ता बोलाएर रञ्जितालाई मन्त्री बनाउन लाग्नुभएको हो । पार्टीभित्र संरक्षक रेशम चौधरी र रञ्जिताबीच अझै मतभेद् रहेको छ।

सरकारलाई समर्थन गर्ने नगर्ने विषयमा उहाँहरूबीचको विवाद कायमै छ। पार्टीको विवाद उत्कर्षमा पुगका बेला अध्यक्ष रञ्जिताले सरकारमा आफू नजाने बताउनु भएको थियो । उहाँले कैलालीकै सांसद अरुण चौधरीलाई मन्त्री बनाउने आवश्वासन दिए पनि आफैं मन्त्री बन्ने तयारी गर्नुभएको हो ।