जनता टाइम्स

३२ जेष्ठ २०८१, शुक्रबार १८:०२

माधवले स्वीकारे पार्टी बिभाजनको औचित्य पुष्टि नभएको तथ्य, एमालेकै बिधानअनुसार गरियो महाधिवेशन प्रतिनिधिको ब्यवस्था


काठमाडौं, जेठ ३२ । नेकपा एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन गर्नुभएका माधव नेपालले पार्टी बिभाजनको औचित्य पुष्टि गर्न नसकेको स्वीकार गर्नुभएको छ । एमालेकै बिधानअनुसार महाधिवेशन प्रतिनिधि हुने ब्यवस्था गर्दै माधवले पार्टी बिभाजन गलत रहेको तथ्य स्वीकार गर्नुभएको हो ।

नेकपा एकीकृत समाजवादीले एमालेकै बिधानको पालना गर्दै महाधिवेशन प्रतिनिधिको टुंगो लगाएको छ ।  नेकपा एमालेकै नाममा राजनीति गर्दै आएको र एमालेकै नेतृत्व र सरकारको समेत नेतृत्व गरेको इतिहास कायम राख्दै अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले आफ्नो पुरानो इतिहास जागाउन एमालेकै बिधानअनुसार महाधिवेशन प्रतिनिधि टुंगो लगाउने निर्णय लिनुभएको हो ।

दुवै नेताको सहमतिमा अन्तर पार्टी निर्देशन (अपानि) जारी गर्दै पार्टी केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सदस्यहरू आयोजकको हैसियतमा स्वतः राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुने ब्यवस्था गरेको हो ।

महाधिवेशनमा सबै नेताहरू वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने भनिएपनि अन्तिम समयमा आएर केन्द्रीय सदस्य र केन्द्रीय आयोगका सदस्य आयोजकको हैसियतमा स्वतः महाधिवेशन प्रतिनिधि हुने निर्णय नेकपा एकीकृत समाजवादीले गरेको हो ।

सोही निर्णयअनुसार अध्यक्ष नेपालले अपानि जारी गर्दै १०औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चुनिनका लागि पार्टीको संगठित पार्टी सदस्यता प्राप्त गरी कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्ने जानकारी दिनुभएको छ । नेकपा एसले पार्टी गठन गरेपछि पहिलो महाधिवेशन भएपनि एमालेकै इतिहास कायम राखी दशौं महाधिवेशन भनिसकेको छ ।

अपानीमा भनिएको छ, ‘संगठित पार्टी सदस्यता प्राप्त मिति पूर्ववत पार्टीमा संगठित सदस्यता प्राप्त गरेको मितिदेखिकै गणना हुनेछ । योग्यता नपुगेको व्यक्ति प्रतिनिधिमा छनोट भएमा प्रतिनिधि रद्द हुनेछ ।’