जनता टाइम्स

३ श्रावण २०८३, आइतबार १०:०७

संसदमा एमालेको भूमिका प्रभावकारी बनाउन आज सांसदलाई प्रशिक्षण, अध्यक्ष ओलीदेखि महासचिव पोखरेलसम्मले प्रशिक्षण दिने 


काठमाडौं, साउन ३ । नेकपा (एमाले) ले संसदमा आफ्नो भूमिका थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यसहित आज पार्टीका संघीय सांसदहरूसँग अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ।

पार्टीको संसदीय विभागको आयोजनामा बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूले संसदमा निर्वाह गर्नुपर्ने भूमिका, जिम्मेवारी र प्रस्तुतिका विषयमा प्रशिक्षण प्रदान गर्नुहुने भएकाे छ ।

उहाँका अनुसार संसद सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद सचिवालयको काम, कर्तव्य, अधिकार तथा संसदीय प्रक्रियाबारे सांसदहरूलाई जानकारी गराउनुहुनेछ। साथै, संसदीय समितिहरूको अधिकार क्षेत्र, समितिमा प्राथमिकताका साथ उठाउनुपर्ने विषय तथा प्रभावकारी संसदीय अभ्यासका बारेमा पनि उहाँले प्रशिक्षण दिनुहुनेछ।

त्यसैगरी, पार्टी महासचिव शंकर पोखरेलले पार्टीको नीति, सिद्धान्त तथा सांसदहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषयमा प्रशिक्षण दिनुहुनेछ। सचिव अर्यालका अनुसार प्रत्येक सांसदले पार्टीको नीति र मार्गनिर्देशनअनुसार संसदमा भूमिका निर्वाह गर्नुपर्ने भएकाले सम्बन्धित विषयगत विभागहरूसँग आवश्यक समन्वय र परामर्श गरेर अघि बढ्नुपर्ने विषयमा महासचिव पोखरेलले स्पष्ट पार्नुहुनेछ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यक्रममा सहभागी हुन सबै विभाग प्रमुख तथा विभागका पूर्वसदस्यहरूलाई समेत जानकारी गराइएको छ। विषयगत विभागहरूले आफ्नो क्षेत्रमा विज्ञता भएका व्यक्तिहरूको नाम सिफारिस गरी सांसदहरूलाई आवश्यक पर्दा संसदीय विषयमा परामर्श उपलब्ध गराउन विज्ञहरूको रोस्टरसमेत तयार गर्ने तयारी गरिएको छ।

आजको कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका एमाले सांसदहरूको सहभागिता रहने जनाइएको छ।