झापा, असार ५ । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टी अध्यक्ष केपी ओलीलाई फेरि प्रधानमन्त्री बनाएर देश विकासमा कायापलट गर्ने बताउनु भएको छ । अध्यक्ष ओलीको गृहजिल्ला झापामा अनेरास्ववियुलेआज आयोजना गरेको कोशी प्रदेशस्तरीय प्रचार भेलालाईसम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका ढकालले यस्तो उदघोष गर्नुभएको हो ।
उहाँले एमाले अहिले मिसन २०८४ को अभियानमा रहेको र त्यो अभियान भनेको एमालेको एकल बहुमत रहेको बताउनुभयो । कतिपय मानिसले मिसन २०८४ एमालेको चुनावको विषय भनिरहेका भए पनि त्यो देशको भविष्यको विषय भएको उहाँले प्रष्ट पार्नुभयो । ‘फेरी पनि केपी ओलीलाई प्रधानमन्त्री बनाएर देश विकासमा कायापलट ल्याउनुपर्छ भनेर हामी लागिरहेका छौँ’, ढकालले भन्नुभयो ।
उहाँले नेपालमा युवा बाँकी नै छैनन् भन्ने गलत प्रचार भइरहेको पनि बताउनु भयो । नेपालका युवा सबै विदेश गइसके भन्ने गलत प्रचार भएको भन्दै उहाँले त्यस्ता कूप्रचारप्रति सचेत हुनुपर्ने बताउनु भयो । नेपाली युवा देशमा नै छन् र राजनीतिमा सक्रिय छन् भन्ने कुरा हेर्न राष्ट्रिय युवा संघ र अनेरास्ववियुले आयोजना गर्ने कार्यक्रम हेर्न आउन पनि ढकालले आग्रह गर्नुभयो ।
नेता ढकालले बदलिँदो परिस्थितिमा अनेरास्ववियुले विद्यार्थी बन्द हडतालमा होइन, सिर्जनात्मक काममा लाग्नु पर्छ भन्ने भन्ने सन्देश अनेरास्ववियुले दिएको उहाँले बताउनुभयो । ढकालले सबै मानिसले राजनीति गर्न नसक्ने बताउनुभयो । राजनीति गर्ने काम सबै कामभन्दा जटिल काम भएको प्रष्ट पार्नुभयो । राजनीतिकर्मी समाज सेवाको काम लागेकोले यो काम त्यति सजिलो नभएको उहाँले बताउनुभयो ।
आज राजनीतिको बारेमा गरिएको गलत प्रचारले योग्य र सक्षम मानिसहरू राजनीतिमा नआउने खतरा रहेको ढकालले बताउनुभयो । यस्तो परिस्थितिमा असक्षम मानिसहरू राजनीतिमा आए भने देशको भविष्य बरबाद हुने ढकालको भनाइ थियो । उहाँले अव एमाले र एमालेका जनसंगठन मुलुक निर्माणको काममा लाग्नु पर्नेमा पनि जोड दिनुभयो । मुलुक निर्माणका काममा लागियो भने आलोचना गर्नेहरूले पनि एमालेको समर्थन गर्ने ढकालले बताउनुभयो ।
पुराना पुस्तामा एमालेप्रतिको आकर्षण भए पनि विभिन्न कारणले युवा समुदाय पार्टीमा जोडिन नसकेको तथ्य राख्दै सो काममा लाग्न पनि उहाँले आग्रह गर्नुभयो । युवालाई पार्टीमा जोड्न गरी अभियानका साथ लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्रलाई अप्ठेरो परेको बेला लड्ने केपी ओली र एमाले भएको उहाँले बताउनुभयो । अहिले नेपालमा जतिवटा पार्टी भए पनि क्रमशः देशको राजनीति दुई ध्रुवमा विभाजित हुने उहाँले दाबी गर्नुभयो ।
ढकालले कम्युनिष्ट शक्तिको नेतृत्व अब एमालेले गर्ने र अर्को ध्रुवको नेतृत्व नेपाली कांग्रेसले गर्ने उहाँले स्पष्ट पार्नुभयो । यो कुरालाई माओवादी केन्द्र र माधव नेपालका कार्यकर्ताले पनि बुझ्नुपर्ने ढकालको भनाई छ । माओवादी क्रमशः ओरालो यात्रामा लागेको भन्दै ढकालले यस तथ्य र सत्यलाई माओवादीले बुझिदिए सहकार्यमा समस्या नहुने स्पष्ट पार्नुभयो ।
केही नयाँ भनिएका पार्टीहरूले मानिसहरूलाई भ्रमित बनाएका भए पनि इलामको उपनिर्वाचनले उनीहरूको जमानत जफत गरिदिएर जवाफ दिएको ढकालले प्रष्ट पार्नुभयो । अब उनीहरूको असलियत मतदाताले बुझिसकेको उहाँले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्