जनता टाइम्स

१८ असार २०८१, मंगलवार ११:४९

प्रधानमन्त्रीले राजीनामा नदिने, संसदमा विश्वासको मतको सामना गर्ने


काठमाडौं, असार १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा नदिने निर्णय सुनाउनु भएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको अध्यक्षतामा बसेको माओवादीको पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको हो ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीले गलेर राजीनामा दिने कुरा हुँदैन । संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ, पौडेलले भन्नुभयो ।

अहिले सरकारलाई समर्थन गरेका दलहरूले समर्थन फिर्ता नलिएकाले विश्वासको मत कहिले लिने भन्ने विषयमा केही सोच नबनाएको पनि पौडेलले बताउनु भयो । मध्यरातमा दुई दल बसेर गरेको सहमतिबाट राष्ट्रिय सहमति नहुने निष्कर्ष पनि बैठकले निकालेको छ । एमाले र कांग्रेसबीच गएर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने लिखित सहमति भएको छ ।

माओवादीले कांग्रेस र एमाले मिलेर ०४७ को व्यवस्थातिर जान खोजेको आरोप लगाउँदै पौडेलले यस विषयमा विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय गरेको बताएको छ । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले एक महिनाभित्र बिश्वासको मत लिनुपर्ने संबैधानिक ब्यवस्था छ ।