जनता टाइम्स

१९ असार २०८१, बुधबार ०४:४७

प्रचण्डको त्यो खेलले सहकार्य गर्नैपर्ने निश्कर्षमा पुगे कांग्रेस-एमाले नेता, यी हुन मुख्य कारण


किन भयो त अचानक सत्ता समीकरण परिवर्तन ? यस्को मुख्य कारण के हो ? सत्ता गठबन्धनमा किन एकाएक खटपट आयो ? यी प्रश्नको जवाफ खोज्न बजेटदेखिका घटनाक्रम केलाउनु पर्छ ।

गणेश बस्नेत

नेकपा एमालेले माओवादी केन्द्रसँगको सहकार्य तोडेर नेपाली कांग्रेस रोज्यो । मंगलवार बिहान दुई दलबीच भएको सहमतिपछि माओवादीले एमालेबाट धोका भएको टिप्पणी गरेको छ । एमालेले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण सत्ता समीकरण फेर्नु परेको जवाफ दिएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री आफै सत्ता समीकरण फेर्न लागेपछि एमालेले कदम चाल्न बाध्य बनेको हो । प्रधानमन्त्रीले सत्ता सहयात्री दललाई सुईंकोसमेत नदिएर कांग्रेससँग सत्ता समीकरणको बार्ता गरेको कारण एमालेले यो कदम लिएको ज्ञवालीले प्रष्ट पार्नुभयो ।

‘सत्ता सहयात्री दलहरूसँग छलफल नै नगरि प्रधानमन्त्रीले अचानक कांग्रेससँग राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव राख्नुभयो । उहाँको यो प्रस्तावपछि एमाले पनि सोच्न बाध्य भयो,’ जनताटाइम्स डटकमको जिज्ञासामा ज्ञवालीले भन्नुभयो । उहाँका अनुसार प्रधानमन्त्रीले केही दिन अगाडि कांग्रेससँग राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव राख्नुभएको थियो ।

आफूहरु अहिलेसम्म पनि किन प्रधानमन्त्रीले सत्ता सहयात्रीहरूसँग छलफल नै नगरी कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गर्नुभयो र आफैले अस्थिरताको सन्देश दिनुभयो भन्नेबारे एमाले नेताहरुले जानकारी पाउन सकेका छैनन । ‘उहाँले किन यस्तो काम गर्नुभयो ? त्यो त जानकारी भएन तर प्रधानमन्त्रीको त्यही प्रस्तावबाट एमाले र कांग्रेसबीच सहकार्यको संवाद यहीँबाट सुरू भयो,’ ज्ञवालीले भन्नुभयो ।

प्रधानमन्त्रीको कामले एमालेको मनमा चिसो पसेको र २०७९ पुसमा भएको घटना दोहोरिने बुझाइ रह्यो । कांग्रेसको पनि विश्वासको मत लिएर एमालेलाई गत वर्षजस्तै गरी किक आउट गर्न खोजेको महसुस एमाले नेताहरुमा भयो । ‘हामीले प्रधानमन्त्रीलाई सोधेका पनि हौं, प्रधानमन्त्रीले त्यस्तो होइन भनेर प्रष्ट पार्नुभयो । त्यसपछि स्वभाविक रूपमा राजनीति आन्तरिक रूपमा तरंगित भयो । हामीले कांग्रेससँग छलफल अघि बढायौं,’ ज्ञवालीले भन्नुभयो । उहाँका अनुसार असार १२ गतेदेखि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लगातार संवाद अघि बढ्यो ।

मुलुकमा राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएका छौं । त्यसमा संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर आवश्यकताअनुसार संशोधन गरी त्यसअनुसारका कानुन निर्माण गरिने छ । शिथिल भएको अर्थतन्त्रलाई क्रियाशील गर्ने र तीव्र गतिमा विकास निर्माण अगाडि बढाएर मुलुकमा समृद्धि ल्याउने हाम्रो लक्ष्य हो

पछिल्लो समय एमाले र माओवादीबीच केही बिषयमा समस्या आएको थियो । बजेट बिना परामर्श ल्याइएको थियो । यतिसम्म कि एमाले अध्यक्ष ओलीलाई समेत बजेटबारे सामान्य जानकारीसमेत दिइएको थिएन । त्यसमाथि प्रधानमन्त्री आफैले सरकारको विकल्प खोज्न थालेपछि एमाले र कांग्रेसबीच सत्ता समीकरणको परिपक्व बाताबरण बन्न पुगेको हो ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले पनि प्रधानमन्त्री प्रचण्डकै कारण दुई ठूला दल मिल्नुपरेको तथ्य खोल्नुभयो । ‘मुलुकमा राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएका छौं । त्यसमा संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर आवश्यकताअनुसार संशोधन गरी त्यसअनुसारका कानुन निर्माण गरिने छ । शिथिल भएको अर्थतन्त्रलाई क्रियाशील गर्ने र तीव्र गतिमा विकास निर्माण अगाडि बढाएर मुलुकमा समृद्धि ल्याउने हाम्रो लक्ष्य हो,’ लेखकले भन्नुभयो ।

लेखकका अनुसार प्रधानमन्त्री प्रचण्डले २०७९ पुस १० मा धोका दिएपछि साना-साना दलको नेतृत्व अथवा साना-साना दलको गठजोड मिलाएर गठबन्धनको सरकार बनाउँदा अस्थिरता बढ्यो । जसको कारण सरकारले मुलुकमा न स्थिरता दिनसक्यो, न सुशासन र विकास निर्माणमा गति । यही कारण दुई ठूला दल मिल्नुपर्यो । प्रधानमन्त्रीले एमाले र कांग्रेसलाई पालैपालो प्रयोग गर्ने नीति लिएको कारण पनि यो अवस्था आएको उहाँको भनाई छ ।

‘प्रधानमन्त्रीमा देश र जनताको चिन्ता होइन, एमाले र कांग्रेसलाई हमेसा खेलाइराख्ने कुरा देखियो । त्यसले अस्थिरताबाहेक केही पाउने अवस्था देखिएन । यसले हामीलाई थप गम्भीर बनायो । हामीबिच स्थिरताका लागि अब मिल्नुको विकल्प छैन भन्ने निष्कर्षमा पुग्यौं,’ दुई दलको सहकार्यको निश्कर्ष सुनाउँदै लेखकले भन्नुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री प्रचण्डको चक्रब्यूँह सदाका लागि तोड्ने अठोटसहित कांग्रेस र एमाले दुवै स्थिर सरकारको पक्षमा उभिएपछि सत्ता सहकार्यको संवाद अगाडि बढ्यो । तीन–चार दिनको छलफलले सहकार्यको विन्दुमा पुर्याएको हो ।